धुलाबारी, ७ साउन । मेचीनगर— ९ स्थित साहित्यकार तेराख प्रतिष्ठान धुलावारीले साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण गरेको छ । प्रध्यापक डाक्टर टंक न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु सुभद्रा भट्टराई अर्याल, पवन राजवंशी, साहित्यकार यज्ञराज प्रसाई प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेललगायतले संयुक्तरुपमा स्मृतिग्रन्थको लोकर्पण गरे ।
प्रतिष्ठानले धुलाबारी माध्यमिक विद्यालयमा आयोजना गरेको लोकार्पण कार्यक्रममा साहित्यकार मिश्र वैजयन्तीले स्मृति ग्रन्थको समिक्षा गर्दै स्मृतिग्रन्थ भित्र साहित्यकार तेजराज खतिवडाको साहित्यीक कृतित्व तथा व्यक्तित्व झल्किने उल्लेख गरिन्। ग्रन्थमा साहित्यकार खतिवडाले जीवनमा भोग्नुभएको सुख दुःखलगायतका विषयलाई चित्रण गरिएको छ ।
प्रमुख अतिथि प्रध्यापक डाक्टर टंक न्यौपाने साहित्यकार तेजराज खतिवडाले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गदैं उहाँको निधनले एउटा समाज र परिवारलाई मात्र नभएर राष्ट्रलाईनै ठूलो क्षति पुगेको बताए । प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले साहित्यकार खतिवडाले नेपाली साहित्यक्षेत्रमा लागेर निक्कै ठूलो मान प्रतिष्ठा आर्जन तथा नेपाली साहित्यक्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे ।
स्वर्गीय तेजराज खविडाका ज्येष्ठ सुपुत्रसमेत रहेका लेखनाथले परिवारजनकातर्फबाट प्रतिष्ठानले स्थापना गरेको अक्षयकोषमा थप १० लाख रुपैयाँको चेक अध्यक्ष शिवकुमार पौडेललाई हस्तान्तरण गरे ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु सुभद्रा भट्टराई अर्याल, पवन राजवंशी, साहित्यकार यज्ञराज प्रसाईलगायतले बोलेका थिए।विद्यार्थी अवस्थादेखि नै साहित्य सिर्जनामा लागेका तेराखका बिसौं कृतिहरु प्रकाशित भइसकेको चर्चा गरिएको थियो । तेजराज खतिवडा एउटा सफल सम्पादक र उनले साहित्यिक पत्रिका ४-५ वटा सम्पादन गरेका छन् ।