युवा शिखर सम्मेलन : बस्नेत नेतृत्वको टोली अजरबैजान प्रस्थान

काठमाडौं, ७ साउन । असंलग्न आन्दोलनको युवा शिखर सम्मेलनमा भाग लिनका लागि शनिबार नेपाली प्रतिनिधि मण्डल अजरबैजानको राजधानी वाकु प्रस्थान गरेको छ। नेपालका तर्फबाट राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको नेतृत्वमा दुई सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो। टोलीमा अर्का सदस्य युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा.कृष्णबहादुर घिमिरे रहेका छन् । सम्मेलनमा सहभागि हुन लागेका द्धय अधिकारीलाई त्रिभुवन बिमानस्थलमा संघीय सांसद महेन्द्रकुमारी लिम्बू , माओवादी केन्द्रका नेता तिर्थराज बस्नेत (शंकर ) , दमकका युवा व्यक्तित्वहरुले खादा ओढाएर विदाई गरेका थिए ।

जुलाई २५ देखि २९ तारिखसम्म संचालन हुने शिखर सम्मेलनमा असंलग्न आन्दोलनमा ऐक्यबद्धता जनाउने विभिन्न मुलुकका युवा प्रतिनिधि सहभागी हुनेछन् । हालसम्म १२० देशले असंलग्न आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। युवा शिखर सम्मेलनबाट असंलग्न आन्दोलनमा ऐक्यवद्धता जनाउने मुलुकका युवाहरुको अन्तर्राष्ट्रिय नेटवर्क समेत गठन गर्ने कार्यसूची रहेको कार्यकारी उपाध्यक्ष बस्नेतले जनाए।

बस्नेतले सो शिखर सम्मेलनमा नेपाली पक्षको तर्फबाट असंलग्न आन्दोलनमा नेपालको स्पष्ट र दृढ प्रतिवद्धतालाई पुनः दोहोर्याउने जनाएका छन्। असंलग्न आन्दोलनले मात्र विश्व शान्ति, सहअस्तित्व र भातृत्व अभिवृद्धि हुने विषयलाई युवा शिखर सम्मेलनमा जोड दिने बस्नेतले वताए।

अजरबैजान जानु अघि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज सहित प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका बस्नेतले भने, ‘प्रधानमन्त्री ज्यूले नेपाल असंलग्न आन्दोलनमा सदैव प्रतिवद्ध रहेको सन्देश सुनाउनु भन्नुभएको छ।’ बस्नेत नेतृत्वको टोली आगामी शनिबार स्वदेश फर्किने छ ।

Leave a Reply

Your email address will not be published.