
कन्काई,८ साउन । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि झापामा एकपछि अर्को पालिका ‘सिल’ गर्न थालिएको छ । संक्रमितको संख्या बढेको भन्दै जिल्लाको कनकाई नगरपालिकामा पनि सिल गर्ने निर्णय भएको छ ।
कनकाईका ९ वटै वडा शनिबार राति १० देखि श्रावण १६ गते राति १० बजेसम्म ‘सिल’ गर्ने निर्णय गरेको नगरपालिकाले शुक्रबार एक सूचना जारी गरि जनाएको छ । कनकाई नगरस्तरीय कोरोना भाइरस नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको सूचनामा उल्लेख छ ।
सिल अवधिमा नगरभित्र कडाईसाथ बन्दाबन्दी गरिने जनाइएको छ । साथै यस अवधिमा नगरभित्र बजार, पसल, बैंक तथा वित्तीय संस्थाहरु समेत बन्द गर्न र गराउन आग्रह गरिएको छ ।
सिल गरिएको समयमा आवतजावत तथा नगरपालिका र वडा कार्यालयहरुबाट हुने सबै किसिमका सेवा स्थगन गरिएको जनाइएको छ । नगरपालिकाले सिल बारेको सूचनालाई उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
३ दिनदेखि जिल्लाको बुद्धशान्ति गाउँपालिकामा सिल गरिएको छ । शुक्रबारदेखि अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजार पनि बन्द गरिएको छ । (वजार दैनिकबाट )