
उर्लाबारी ,८ साउन । छ महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको मोरङको उर्लाबारीस्थित एकीकृत सन्थाल बस्ती निर्माणको काम बल्ल ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो ।
सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले मोरङको उर्लाबारी नगरपालिकास्थित रातोहोली खोल्सी किनारमा बस्ती निर्माण गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार सन्थाल बस्ती निर्माणका लागि सम्झौता भई ठेकेदार कम्पनीले कार्यादेशसमेत पाइसकेको छ । अब काम छिट्टै सुरु हुने छ । यसअघि सो बस्ती निर्माणका लागि गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर ) निर्माण सम्पन्न भइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन १८ गते सो बस्ती निर्माणको शिलान्यास गरेका थिए ।
दुई वर्षभित्र सो एकीकृत बस्तीको निर्माण गर्न कुल लागत १८ करोड रुपैया खर्च हुने छ । बस्ती निर्माणको जिम्मा सगुनर शर्मा (ज्वाइन्ट भेञ्चर ) ले पाएको छ । उर्लाबारीको नगरपालिका ८ स्थित नदी किनारामा सन्थाल जातिका करिब ७० घर परिवार दयनीय अवस्थामा गुजारा गरिरहेका छन् ।अहिले नदी किनारामा नरकट र खरको छानाले बारेर बनाएको घरमा बसिरहेका छन् ।
बस्तीसँगै सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, सडक, खानेपानी, बिजुलीबत्ती , मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको संरचना पनि निर्माण गरिने उनले जानकारी दिएक ।
सन्थाल जातिका लागि सात विघा क्षेत्रफलमा १३२ घर निर्माणसहितको बस्ती विकास भइरहेको छ । प्रतिपरिवारलाई ३५ वर्गमिटर क्षेत्रफलमा दुईवटा कोठा, एउटा भन्साकोठा, एउटा चर्पी र स्नान घरसहितको घर निर्माण गरी वितरण गरिने छ ।
उनले भने “समग्रमा प्रतिघरपरिवार ८० वर्गमिटर जग्गा पर्न आउँछ । कुल १८ करोड रुपियाँको लागतमा सो बस्ती निर्माण भइरहेको छ । अबको १८ महिनामा घर निर्माण सम्पन्न भई बढीमा दुई वर्षभित्र घर लक्षित समुदायलाई वितरण भइसक्ने छन् ।” जम्मा १२६ घर निर्माण गरिने छ ।