गत आर्थिक बर्षमा ७ हजार ३ सय ८४ मुद्धा दर्ता, ४० करोड भन्दा बढी राजश्व संकलन

दमक,८ साउन । प्रदेश १ मा प्रहरीले गएको बर्ष ७ हजार ३ सय ८४ मुद्धा दर्ता तथा ४० करोड भन्दा बढी राजश्व संकलन गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापन कार्यमा उल्लेख्य मात्रामा सफलता हासिल गरेको हो ।
गत आर्थिक बर्षको १२ महिना अवधीमा ७ हजार ३ सय ८४ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७४३ जना फरार प्रतिवादी पक्राउ गरी ७३५ बर्ष कैद भुक्तान भई , ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण तर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार ३५१६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने १७८९.१११ केजी गाँजा बरामद भएको छ ।
यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई १० हजार ३५८ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु २ हजार ४ सय ८३ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १९० जना मानिस पक्राउ गर्नुका साथै १९ करोड ०१ लाख ५८ हजार २१२ रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १७० जना मानिस र ७८५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ६५ लाख ७५ हजार ३०० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ गर्नुका साथै ३२६१ क्यूफिट काठ बरामद गरी ७० लाख ३८ हजार ७८७ रुपैयाँ राजश्व संकलन भएको छ ।
२ लाख ५४ हजार ३९४ वटा सवारी साधन कारवाही
यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ ट्राफिक नियम उलंघन गर्ने २ लाख ५४ हजार ३९४ वटा सवारी साधनलाई कारवाही गर्दा १५ करोड ९७ लाख ११ हजार राजश्व संकलन भएको छ । यसरी गत आर्थिक बर्षको श्रावण देखी असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्धा दर्ता भई ४० करोड ७८ लाख ४२ हजार ३१७ राजश्व संकलन भएको हो ।

Leave a Reply

Your email address will not be published.