वीपी स्मृतिमा कांग्रेसद्धारा साधुहोली सिमसारमा वृक्षरोपण

कमल ,६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४३ औं स्मृति दिवसको अवसर पारेर झापाको कमल -५ स्थित साधुहोली सिमसार क्षेत्रमा बृक्षरोपण गरि मनाइएको छ । आन्तरिक पर्यटन,प्रवद्र्धनमा टेवा पुरयाँउन जोड दिने उद्देश्यले कांग्रेस कमलले त्यहाँ विभिन्न जातका फलफूल रोप्नुका साथैं वीपीको विचार,चिन्तन माथि चर्चा गरिएको कांग्रेस कमल गाउँ सभापति खगेन भण्डारीले बताए । उनका अनुसार सिमसारस्थलको चारैतिर विभिन्न जातका दुई सय विरुवाहरु रोपिएका छन् ।
कमल गाउँपालिका अध्यक्ष समेत रहेका कांग्रेस कोशी प्रदेश समिति सदस्य एवं महासमिति सदस्य हुकुमसिंह राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वक्ताहरुले वीपी कोइरालाको राजनीतिक, साहित्यीक जीवन र समाजवादका बिषयमा चर्चा गरेका थिए ।

वृक्षरोपण शुभारम्भका क्रममा प्रमुख अतिथि राईले पर्यटकीय गन्तव्यको रुपमा निर्माण गरिँदे गरेको साधुहोली सिमसारको बिकास र संरक्षणका लागि भइरहेको कार्यका विषयमा बोलेका थिए । अध्यक्ष राईले स्थानीय सरकारको तर्फबाट कमल गाउँपालिका भित्रको पर्यटन बिकाससँगै त्यहाँको शिक्षा, स्वास्थ्य कृषि र पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति भएको र त्यस्ता रचनात्मक कार्यलाई अझ विस्तार गर्दे लैजाने औल्याए ।
जनताको सेवानै वीपिको लक्ष्य हो भन्ने आफ्नो बुझाई रहेको बताउँदै उनले कांग्रेस नेता, कार्यकर्ताहरु कुरामा भन्दा काममा विश्वास गर्ने सोचका साथ अघि बढ्नु पर्ने उल्लेख गरे ।

कांग्रेस कमल गाउँ उपसभापति पदम निरौलाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा कांग्रेस झापा क्षेत्र नं -५ का सभापति ढुण्डीराज भण्डारी ,कांग्रेसका महाधिवेशन प्रतिनिधि राजनबहादुर ढुंगानाले वीपिको विचार र सिद्धान्तको बहस गरेर मात्रै नबसेको र व्यवहारमा कांग्रेसले बिकास र समृद्धिको खाका सहित अघि बढेको उल्लेख गरे ।
सो अवसरमा कांग्रेसका पूर्व आमन्त्रीत केन्द्रीय सदस्य दिलिप राई, झापा क्षेत्र नं ५ (ख) का सभापति रवि केसीसहित विभिन्न तहका नेतृत्वको साथै कमल र दमक क्षेत्रबाट स्थानीयहरु ठुलो संख्यामा सहभागि रहेका थिए ।

Leave a Reply

Your email address will not be published.