
ज्योति शर्मा उर्लावारी, ७ साउन । मोरङको उर्लाबारीमा स्थानीय सरकार बनेसंगै एकपछि अर्को खानेपानी आयोजना भित्रिने क्रम जारी छ । यसैक्रममा चालु आर्थिक वर्ष २०७८÷०७९ देखि ५० करोडको लागतमा उर्लाबारी बृहत सहलगानी खानेपानी आयोजना सञ्चालन हुने भएको छ । नेपाल सरकारको सन् २०३० सम्ममा सबै घरमा शुद्ध खानेपानी पु¥याउने लक्ष्य अनुरुप आयोजना सञ्चालनमा आउन लागेको हो । यता उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले भने लक्ष्यभन्दा अघि नै उर्लाबारीवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने गरी कार्य अघि बढाएको जनाएको छ ।
बृहत सहलगानी खानेपानी आयोजनाबाट उर्लाबारी–९ मा ४ लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गर्ने र उर्लाबारी ४, ५, ६ र ७ का पुरानो पाइपलाइन सुधार र विस्तार गरिने संस्थाका कार्यालय प्रमुख राजु बुढाथोकीले जानकारी दिए । नेपाल सरकार खानेपानी तथा ढल निकास विभागको लगानीमा सम्पन्न हुने योजनाको डिपिआर तयार भइसकेको छ ।
आगामी माघ, फागुनमा टेण्डर लाग्ने र तीन वर्षभित्रमा निर्माण कार्य सकिने बुढाथोकीले बताए । अहिले उर्लाबारी सहलगानीको दोस्रो आयोजना अन्तर्गत उर्लाबारी–१ र ८ मा खानेपानी विस्तारको काम भइरहेको छ । यो आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भइसक्दा अर्को आयोजना पनि थप भएको छ । दोस्रो सहलगानी अन्तर्गत अहिले उर्लाबारी–१ मा २ लाख २५ हजार लिटर र उर्लाबारी–८ मा ४ लाख ५० हजार लिटर क्षमताका ट्याङ्की निर्माण भइरहेका छन् ।
पहिलो आयोजना अन्तर्गत उर्लाबारी–६ मा ४ लाख ५० हजार लिटर क्षमताका दुई वटा ओभरहेड ट्याङ्कीबाट खानेपानी वितरण भइरहेको छ । दोस्रो र तेस्रो योजना सम्पन्न भएपछि उर्लाबारीको बक्राहा पूर्वका सात वटा वडाका १४ हजार घरमा शुद्ध खानेपानी सुविधा उपलब्ध हुने संस्थाका अध्यक्ष भुपाल जिमीले बताए । पहिलो आयोजनाबाट ४ हजार ९१६ घरधुरीमा खानेपानी वितरण भइरहेको छ ।
यस्तै, दोस्रो आयोजनाबाट २९ सय र बृहत सहलगानीबाट ७ हजार धारा जडानको लक्ष्य राखिएको छ । संस्थाले दमक–१० को मावा खोला पश्चिमका घरमा समेत खानेपानी उपलब्ध गराउने जनाएको छ । उर्लाबारीको बक्राहा पश्चिमका वडा नं। २ र ३ मा पनि खानेपानी आयोजना सञ्चालनमा रहेका छन् ।