दमक ,६ साउन । झापाको दमकमा अव घरपालुवा कुकर स्थानीय तहमा अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । घरपालुवा कुकुर पालनलाई थप व्यवस्थित गर्न दमक नगरपालिकाले अव यस किसिमको कार्यक्रम ल्याएको हो ।
नगरपालिकाको हालै सम्पन्न १३ औं नगरसभाले थप नयाँ कार्यक्रमका रुपमा घरपालुवा कुकर पालन व्यवसायलाई थप व्यवस्थित गर्न अनिवार्य रुपमा कुकुर सुचिकृत गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाले बताए । उनका अनुसार अव कार्यविधि बनाएर कुकुर दर्ता सम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ ।
नगरपालिकाले पशु सेवा शाखाको समन्वयमा दमकमा १० वटै वडातहमा घरपालुवा कुकुरको दर्ता गर्ने व्यवस्था गरिने पशु सेवाका शाखाका अधिकृत गणेशबहादुर प्रधानले बताए ।उनले घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि तयार गरि यस कार्यक्रमलाई कार्यान्वयन गरिने बताए । यस कार्यक्रमले कुकुर पालन थप व्यवस्थित हुने उनको भनाई छ ।उनले भने , –‘घरपालुवा कुकुर र छाडा सामुदायिक कुकुर पहिचान गर्न पनि यस कार्यक्रम उपयोगी हुने छ’
उनका अनुसार घरपालुवा कुकुर सुचिकृत गरिएसंगै कुकुरको संख्या,जात, रेविज खोप,औषधी र कुकुर मरे त्यसको व्यवस्थापन गर्न सघाँउ पुरयाँउने छ ।दमकमा ठुलो संख्यामा घरपालुवा कुकुर कुकुरपालिदै आएको अनुमान छ । त्यस्तै, सामुदायिक कुकुरको झनै समस्याका रुपमा रहदैआएको छ । झापाको १५ वटा स्थानीय तह मध्ये दमकले पहिलोपटक घरपालुवा कुकुरको सुचिकृत कार्य अघि बढाएको नगरपालिकाले जनाएको छ ।