झापा ,५ साउन। लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापासहित , कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट यस प्रदेशका झापा, मोरङ, सुनसरीलगायत जिल्लामा तीव्र रुपमा डेङ्गु सङ्क्मण फैलिदै गएको छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेङ्गु फोकल पर्सन ) विवेचना चम्लागाईँका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा दुई सय ४० जना डेङ्गुका बिरामी फेला परेका छन् ।
उनका अनुसार यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेङ्गु रोगीको संख्या तीन सय १२ जना पुगिसकेको छ । मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेङ्गु फैलिएको पाइएको छ । गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ । डेङ्गुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् । सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालमा डेङ्गुका बिरामीको उपचार भइरहेको छ । पछिल्लो सातामात्रै सुनसरीमा ५३, मोरङमा नौ, झापामा चार, तेह्रथुममा पाँच, भोजपुरमा चार, ताप्लेजुङमा एक र खोटाङमा एक जना डेङ्गुका बिरामी फेला परेका छन् । कोशी प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथरबाहेक सबै जिल्लामा डेङ्गुका बिरामी भेटिएका छन् । सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन् । कोशी प्रदेशभर पाइएका डेङ्गुका बिरामीको दुईतिहाइ संख्या सुनसरीमा नै छन् ।
स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य निरीक्षक कुलप्रसाद पौडेलले झापामा बिरामी देखिन थालेको बताए । प्रादेशिक अस्पताल भद्रपुरमा डेङ्गुका बिरामीको उपचार भइरहेको र डेङ्गु फैलिन नदिन जनचेतना कार्यक्रम सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए ।आम ज्वरोभन्दा निकै तीव्र ज्वरो आउनु डेङ्गुको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेङ्गुका बिरामीमा देखिन्छन् ।
डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। रुद्रप्रसाद मरासिनीले जानकारी दिए।
उनका अनुसार असोजपछि भने डेङ्गु सङ्क्रमण क्रमशः कम हुँदै जाने छ । उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढेको बताए । गत वर्ष पनि वैशाखदेखि नै सङ्क्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च सङ्क्रमण भई देशभरिका ७७ जिल्लामा फैलिएको थियो ।