ताप्लेजुङ, ६ साउन । ताप्लेजुङबाट गत आर्थिक वर्ष २०७८- ७९ मा साढे बहत्तर करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात फ्रिज भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयले प्रारम्भिक वित्तीय अवस्था विश्लेषण गर्दै आर्थिक वर्ष २०७८-७९ मा कुल ७२ करोड ६१ लाख ७२ हजार १६५ रुपियाँ रकम फ्रिज भएको जानकारी दिएको छ । कोष नियन्त्रक मदनकुमार पौडेलले पूँजीगततर्फ ५९ करोड २६ लाख १६ हजार ५०४ रुपियाँ फ्रिज भएको प्रारम्भिक तथ्याङ्क रहेको बताए।
यस्तै चालूतर्फ १३ करोड ३५ लाख ५५ हजार ६६१ रुपियाँ रकम खर्च हुन नसकि फ्रिज भएको कोष नियन्त्रक पौडेलले जानकारी दिए। उनकाअनुसार सङ्घ र प्रदेश दुवैतर्फ आव २०७८र७९ मा चार अर्ब ८१ करोड ८८ लाख ५६ हजार ४० रुपियाँ चालूअन्तर्गतको बजेट रहेको थियो । उक्त बजेटमध्ये चार अर्ब ६८ करोड ५३ लाख ३७९ रुपियाँ खर्च भएको छ ।
यस्तै पुँजीगततर्फ प्रदेशबाट १९ करोड तीन लाख २३ हजार र सङ्घबाट एक अर्ब पाँच करोड ८८ लाख २२ हजार ५०० रुपियाँ गरी कुल एक अर्ब २४ करोड ९१ लाख ४५ हजार ५०० रुपियाँ बिनियोजन भएको थियो । उक्त प्रदेश र सङ्घ दुवैतर्फको बजेटमध्ये ६५ करोड ६५ लाख २८ हजार ९९६ रुपियाँ मात्र खर्च भएको कोलेनिकाले जनाएको छ ।
कोष नियन्त्रक पौडेलले गत आवमा कार्यान्वयन भएको जिल्लाको बजेटको यकिन विवरण आउनलाई भने अझै केही समय लाग्ने बताए नयाँ आर्थिक वर्ष सुरु भइसके पनि १५ दिनसम्म रकमको चेक जारी भएपछि कारोबार गर्न सकिने प्रावधान रहेकाले यकिन विवरण आउन बाँकी रहेको उनले बताए । उनका अनुसार स्थानीय तहहरुको विवरण आउन बाँकी रहेको छ ।