वडा अधिवेशन १० दिन सार्ने कांग्रेसको तयारी

झापा,५ साउन ।नेपाली कांग्रेसले वडा अधिवेशन दश दिन पर धकेल्ने तयारी गरेको छ। पाँच हजार उजुरीबारे छानबिन गरेको केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिलाइ भएको र बारा तथा सप्तरीलगायत केही जिल्लामा नयाँ क्रियाशील हालका लागि स्थगित गरिएपछि केही दिन वडा अधिवेशन सार्न लागिएको छ।

कांग्रेसले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ गते देशैभरका वडा अधिवेशन हुनुपर्ने हो। तर सोमबारसम्म क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक भइसकेको छैन। छानबिन समितिले केन्द्रीय समिति र सभापति देउवालाई क्रियाशीलको सूची बुझाएपछि अध्ययनपछि सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई नामावली बुझाउँछन्।

‘क्रियाशीलको सूची खामबन्दी गरेर जिल्ला हुँदै वडामा पठाउन समय लाग्छ। दश दिनजति वडा अधिवेशन सर्छ,’ एक नेताले भने।

केन्द्रीय निर्वाचन समितिले नामावली पाएपछि सबै जिल्लाहरूमा पठाइन्छ। त्यसपछि मात्रै वडा अधिवेशनको तयारी पुग्छ। वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य भएकोले पहिले क्रियाशीलको टुंगो लगाउनुपर्ने हुन्छ।

विवाद देखिएका जिल्लाका विवरण छानबिन समितिले केन्द्रीय समितिमै फर्काइदिएको छ। ती विवरण के गर्ने भन्नेबारे पदाधिकारी वा केन्द्रीय समितिबाट निर्णय गर्नुपर्ने हुन्छ। विवाद भएका ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गर्ने विकल्पबारे पनि कांग्रेसभित्र छलफल भइरहेको छ।छानबिन समितिका सदस्य प्रदीप पौडेका अनुसार करिब एक सय २५ वडामा क्रियाशीलबारे विवाद टुंगिन बाँकी छ। समितिले छानिबन गरी टुंग्याएका क्रियाशीलको विवरण भने छिट्टै सभापति देउवालाई बुझाइने उनी बताउँछन्।

कांग्रेसमा ९ लाखभन्दा बढी क्रियाशील सदस्य छन्। कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published.