
हल्दिबारी, ५ साउन । जिल्लाको हल्दिबारी गाउँपालिका वडा न .२ को पारुखुपी बजार चोकमा निर्माण गरिएको पारुखुपीको स्तम्भ अज्ञात व्यक्तिले भत्काईदिएको छ ।
जिल्लाको पुरानो बजार पारुखुपीको इतिहासलाई प्रतिनिधित्व हुनेगरी निर्माण गरिएको परेवाको स्तम्भ उद्घाटन नहुँदै भत्काइएको छ । गएराती स्तम्भ क्षति पुरयाँउनेको पहिचान खुल्न सकेको छैन् ।
हल्दिबारीका कार्यपालिका सदस्य खगेन राजवंशीले निर्माण सम्पन्न भइसकेर केही दिनपछि उद्घाटन गरिन लागिएको स्तम्भको तल्लो भाग अज्ञात व्यक्तिले भत्काइदिएका हुन् । पहिचान विरोधीले त्यस्तो गलत काम गरेको हुनसक्ने बताउँदै भत्काउनेको खोजी भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार राजवंशी भाषामा पारु अर्थात परेवा र खुपी अर्थात खोर भन्ने बुझिन्छ । परेवाको खोर रहेकै कारण पारुखुपी नामाकरण भएको यस ठाउँको इतिहासलाई जोगाउन परेवा अंकित स्तम्भ निर्माण गरिएको उनले बताए ।
स्तम्भको गत जेठ १२ गते संविधानसभा सदस्य तथा प्रदेश सांसद पूर्णप्रसाद राजवंशी र संविधानसभा सदस्य मोहन टुडुले संयुक्त रुपमा शिलान्यास गरेका थिए । हल्दिवारी २ नं वडा कार्यालयको आर्थिक वर्ष ०७७–०७८ को विनियोजित ४ लाख बजेटबाट सो स्तम्भ निर्माण गरिएको थियो ।