दमक, ५ साउन । झापाको गौरादहमा गए राति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदालयात्री गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको दमक प्रहरीले जनाएको छ । हिजो साँझ पैदल हिँडिरहेका दाहाललाई प्र१०१–०१२प५९९० नंको मोटरसाइकलले ठक्कर दिएको र गम्भिर अवस्थामा उपचारकालागि दमकस्थित लाईफलाइन अस्पताल लगिएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा दाहालसँगै रहेका गौरादह–३ का मोहन उप्रेती पनि सामान्य घाइते भएका छन । मोटर साईकल चालक गौरादह–४ का २८ वर्षीय भरत रिजालको विराटनगरस्थित न्यूरो अस्पताल तथा सोहि मोटर साईकलमा सवार रहेका गौरादह ३ का २६ वर्षीय रविन पौडेलको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।