दमक,३ साउन । नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघ र राष्टिय युवा संघ नेपाल दमक प्रहरी प्रमुख माथि खनिएका छन् । ती दुवै जिल्ला नेतृत्वले इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिप गिरीमाथि विभिन्न आरोप लगाउदै सच्चिन आग्रह गरेका छन ।
ति दुवै संगठनका जिल्ला कमिटी अध्यक्षले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै गएको १ श्रावणमा खेलकुद महासंघकी स्वास्थ्य विभाग सचिव समेत रहेकी नेतृ अम्बिका प्रसाइँ थापालाई सवारी चेजजाँचका नाममा जवरजस्त बल प्रयोग गरी प्रहरीले स्कुटरको चाबी खोसेको उनीहरुको आरोप छ । दमकको भृकुटी चोकमा उनलाई होस्टलमा रहेका आफना छोराछोरी लिन जाने क्रममा श्रावण १ गते कागजात देखाउन भन्दै प्रहरीले रोकेको थियो ।
सो क्रममा प्रसाइँले आफुसंग सवारीसंग सम्बन्धित कागजात भएपनि हाल साथमा नरहेको बताएकी थिइन । उनलाई कागजात लिएर आएपछि पनि डिएसपी दिलिप गिरीको निर्देशनमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीले सवारीको चाबी दिन नमानेको उनीहरुको आरोप छ ।
कागजात लिएर आएपछि पनि मेरो स्कुटरको चाबी नदिई स्कुटर प्रहरीले नियन्त्रणमा लिएर लगे – पत्रकार सम्मेलनमा प्रसाइँले भनिन । उनले आफू र आफना पति राजकुमार थापाको परिचय दिँदा प्रहरीले गालीगलौज गर्दै दुव्र्यवहार गरेको पनि तर्क गरिन । खेलकुद महासंघ एक नम्बर प्रदेश कमिटी अध्यक्ष समेत रहेका दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य थापामाथि डिएसपीले राजनीतिक पूर्वाग्रह राखेर त्यस किसिमको दुव्र्यवहार गरेको आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा खेलकुद महासंघका झापा जिल्ला कमिटी अध्यक्ष भवानी बराल र युवा संघका जिल्ला कमिटी अध्यक्ष शम्भु भण्डारीको हस्ताक्षर छ ।
विज्ञप्तीमा डिएसपी गिरीलाई राजनीतिक रंग दिदैं गएको स्थानीय चुनावमा पनि एमालेका नेता, कार्यकर्तामाथि उनले पूर्वाग्रही पूर्ण व्यवहार गरेको आरोप लगाइएको छ । पत्रकार सम्मेलनमा दमकका होटलहरुमा भइरहेको जुवातास, वेश्यावृत्ती आदिका बिषयमा प्रहरी मुकदर्शक बनिरहेको पनि आरोप लगाइएको छ । उनीहरुले डिएसपी विरुद्ध प्रतिवादमा उत्रिन सक्ने सम्मको चेतावनी दिएका छन ।