दमक , ३ साउन । भट्टराई कुल वंश प्रतिष्ठानले आफ्नो दिवंगत कर्मचारी दिपेन्द्र भट्टराईको मृत्युवरण घटनामा संस्थागत संलग्नता नभएको स्पष्ट पारेको छ । दमक -४ स्थित प्रतिष्ठानको केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर भट्टराईको इच्छामरण घटनालाई संस्थाको नाम समेत जोडेर आएका समाचारप्रति आपत्ति जनाएको हो।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद भट्टराईले केही सञ्चारमाध्यम र फेसबुक पेजहरूमा आएका समाचार कपोकल्पित, भ्रामक मात्र भएकाले यसले सिङ्गो भट्टराई परिवारमा गम्भीर चोट पुर्याएको उल्लेख गरे। प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिमा भएिको छ , –‘दिपेन्द्रको आत्महत्या घटनालाई संस्थासंग जोडेर एकतर्फी रुपमा आएका समाचारमाथि कुनै सत्यता छैन्, त्यसप्रति सवैमा भ्रममा नपर्न अनुरोध गर्दछौं । ’
२० वर्षदेखि प्रतिष्ठानको कार्यालय सचिवमा कार्यरत दिपेन्द्र गत असार २२ गते दिउँसो प्रतिष्ठानको परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । मृत भेटिएका दिपेन्द्रको साथबाट घरायसी समस्या आएको र मिलाउन नसकेर देह त्याग गर्नु परेको सुसाइड नोटमा उल्लेख छ ।
प्रतिष्ठानको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले आफ्नो पुराना इमान्दार तथा कर्तव्यनिष्ठ कर्मचारी मात्र नभएर आफ्नै वंशज भएकाले यस किसिमको अकल्पनीय घटनाले आफूहरू दुखित भएको बताए । प्रतिष्ठान नजिकै बस्दै आएका ५३ बर्षिय दिवंगत भट्टराईका श्रीमती संगीता र एक छोरा, एक छोरी छन् ।
प्रतिष्ठानले अभिभावक गुमाएका भट्टराई परिवारलाई राहत स्वरूप रु. १ लाख२५ हजार सहयोग गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा दाहाल प्रतिष्ठानका केन्द्रीय सदस्य समेत रहेका दिवंगत भट्टराईका नातेदार कमलप्रसाद दाहालले दिवंगत भट्टराई परिवारमा परेको यो दुखदायी घटनाले आफूहरू अत्यन्त दुखित भएको उल्लेख गरे । उनले आर्थिक अवस्था अत्यन्तै कमजोर भएका यो परिवार का नाबालक छोराछोरीहरूको पठनपाठनमा सहयोग पुर्याइदिन प्रतिष्ठानको ध्यानाकर्षण गरेका थिए ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका केन्द्रीय समितिका पदाधिकारीहरु , सदस्यहरु , सल्लाहकारहरु , दिपेन्द्रका परिवारजन,नातागोता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।