बिर्तामोड,२ साउन । करेन्ट लागेर झापाको बिर्तामोडमा शुक्रवार एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ ।बिर्तामोड- २ पश्चिम स्टेण्डमा रहेको बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा दिउँसो २.३० वजे तिर अचानक करेन्ट लाग्दा अर्जुनधारा ४ भाङबारी बस्ने ३५ वर्षीय दिपक पाण्डेको मृत्यु भएको हो ।
उनी बिद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रको फिल्डतर्फ काम गर्दै आइरहेका थिए । ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका पाण्डेलाई सोही कार्यालयका कर्मचारीले उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार गराउने क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले बताए । अनारमनी वितरण केन्द्रका प्रमुख संजीवकुमार शाहका अनुसार पाण्डेले ज्यालादारी कर्मचारीको रुपमा काम गर्दै आएका थिए ।