ताप्लेजुङ, ३ साउन । ट्याक्टर दुर्घटनामा परी ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मैवाखोला गाउँपालिका–२ ढुङ्गे साँघुका ३५ वर्षीय भीमकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
जिल्ला प्रहरीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार प्र १–०२–००३ त ९६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा तामाङ गम्भीर घाइते भएका थिए । टाउको र शरीरको विभिन्न भागमा चोट लागेका तामाङको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिए ।
ढुङ्गेसाँघुको कागतेस्थित भित्री सडक भुसुने स्वास्थ्य इकाई देखि सोही टोल भुसुनेतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको थियो । उकालो सडकमा ट्रली फसेपछि ट्याक्टर निकाल्ने प्रयास गर्दा करिव २० मिटर तल झरेर दुर्घटना भएको थियो ।
ट्याक्टरका चालक सोही ठाउँका सनबहादुर तामाङ भने सकुशल रहेका र तामाङलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।