दमकको सेवारो होटलमा आगलागी, १३ लाख बराबरको क्षति

दमक,१ साउन । दमक नगरपालिका–६ मा रहेको सेवारो होटल एण्ड सेकुवा कर्नरमा आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।विहिबार दिउँसो १२ बजेतिर दिलमाया लावतीले स्थानीय सुरेश कुमार थापाको खाली जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएकी टिनको छानो र पर्खालले बनेको कच्ची होटलमा आगलागी भएको हो ।

खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट ग्यास चुहावट भई सिलिण्डर विस्फोट हुँदा आगलागी फैलिएको प्रहरीले जनाएको छ । होटलमा रहेका लत्ता कपडा, खाद्यान्न, ३ थान फ्रिज, ८ थान ग्यास सिलिण्डर, २ थान इन्भर्टरसहितको सम्पूर्ण संरचना जलेर पूर्ण रूपमा नष्ट भएको छ । होटलमा मात्रै करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।

त्यस्तै, सोही स्थानमा रहेको ज्ञानु रिजालको पक्की दुईतले घरको पछाडिको झ्यालका ७ वटा सिसा फुटेका छन् भने भित्र रहेका लत्ताकपडामा आगो सल्किँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
आगो नियन्त्रणका लागि दमक नगरपालिका, उर्लाबारी नगरपालिका, कमल गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली तथा स्थानीयवासीहरूको सक्रिय सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.