झापा,१ साउन । गएको वर्ष झापा प्रहरीले ५ सय बढी फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले आर्थिक वर्ष २०८१-८२ को अवधिमा विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र १ जना यौनिक अल्पसंख्यक रहेका छन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार सबै प्रतिवादीलाई जिल्ला अदालत झापामा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार कैद सजाय सुनाइएका व्यक्तिहरूलाई कारागार पठाइएको छ भने जरिवाना मात्र बाँकी रहेका प्रतिवादीबाट जरिवाना असुल गरेर छाडिएको हो ।
डीएसपी खड्काका अनुसार पक्राउ परेकाहरूबाट जम्मा २४८ वर्ष १० महिना १४ दिन कैद र रु ७ करोड २७ लाख २४ हजार ८२१ बराबरको जरिवाना असुल गरिएको छ ।
झापामा मुद्दा फछ्र्यौट बढ्यो
झापा जिल्ला अदालतमा मुद्धा फछ्र्यौट बढेको छ । गत आर्थिक बर्ष २०८० – ०८१ को तुलनामा चालु आर्थिक बर्ष २०८१ – ०८२ मा १३१४ थान बढी मुद्धा फछ्र्यौट भएको हो ।
जिल्ला अदालतबाट आर्थिक बर्ष २०८० ÷-०८१ मा ३६६५ थान मुद्धा फछ्र्यौट भएकोमा यस आर्थिक वर्षमा ४९४९ थान मुद्धा फछ्र्यौट भएको छ । यस आर्थिक वर्षमा ६५ प्रतिशत फछ्र्यौट लक्ष्य राखिएकोमा ६०.४९ प्रतिशत फछ्र्यौट भई लक्ष्यको अनुपातमा ९४.६१ प्रतिशत फछ्र्यौट भएको हो ।
अघिल्लो बर्ष जिम्मेवारी सरी आएका ३५५० र यस बषर्मा नयाँ दर्ता भएका ४६३१ गरी कुल ८१८१ मुद्दामध्ये ४९४९ थान मुद्दा फछ्र्यौट भएको छ भने अब ३२३२ थान मुद्दा विचाराधीन रहेका छन् ।