दमक ,२ साउन । दमक -५ बेलडाँगी रोडमा रहेको विर्ताज्योति आँखा अस्पतालमा स्वास्थ्य बिमामार्फत आँखाको निशुल्क उपचार शुरु भएको छ । अस्पतालले स्वास्थ्य बिमामार्फत आँखाका विरामीहरुलाई लक्षित गरि साउन १ गतेदेखि सेवा विस्तार गरिएको सञ्चालक मोति बरालले बताए ।
स्वास्थ्य बिमामार्फत उपचार सुविधाका लागि नियमकारी निकायबाट अनुमति पाएसंगै अस्पताल प्रशासनले विमाबाट उपचार सेवा सञ्चालनमा ल्याएको हो । झापामा विर्ताज्योतिले मात्र बिमा सञ्चालनको सरकारी अनुमति पाएको थियो ।
२०७६ साल माघ ५ गतेदेखि सञ्चालनमा आएको सो अस्पतालले दैनिक रुपमा आँखाका चार जना विशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गरिआएको अस्पतालका सञ्चालक बरालले बताएका छन् । झापाको माइपश्चिमसंगै पूर्वी मोरङ र इलाम तथा पाँचथरका दक्षिणी भेगका बासिन्दाहरुको आँखा सम्बन्धी सवै उपचार उपलव्ध गराउने लक्ष्यका साथ सेवा समेत विस्तार गरिएको उनको भनाई छ ।
अस्पतालले स्थापना यता हालसम्म ८० हजार बढी आखाँ सम्बन्धी नयाँ तथा पूराना रोगीले उपचार सेवा पाएको उल्लेख छ । स्वास्थ्य बिमामार्फत सेवा लिन आउन झापाबासीका लागि रिफर नचाहिने भएपनि झापा बाहिरका सेवाग्राहीको हकमा भने अनिवार्य रुपमा रिफर चाहिने उनले जनाएका छन् ।
आखाँ उपचारमा दमकमा भने यस्तो सुविधा उपलव्ध गराउने विर्ताज्योति एक मात्र भएको छ । दमकमा आधा दर्जन बढी आँखाका उपचार गर्ने स्वास्थ्य संस्था भएपनि कसैमा स्वास्थ्य बिमाको सेवा छैन् । स्वास्थ्य बिमामार्फत सर्वसाधारणले दमकमै विशेषज्ञ आखाँको परीक्षण तथा उपचार उपलव्ध भएपछि यस क्षेत्रका सेवाग्रहीहरुले प्रत्यक्ष रुपमा सुविधा पाएको अस्पताल प्रशासनले बताएको छ ।