झापा ,२ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०-८१ मा तीन अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ संकलन गरेको छ। कार्यालयले आव २०७९-८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार रुपैयाँ बढी राजस्व संंकलन गरेको हो।
कार्यालयले गत आर्थिक वर्षमा तीन अर्ब एक करोड ५९ लाख ७६ हजार राजस्व संकलन गरेको थियो। कार्यालयका सूचना अधिकारी भीमप्रसाद आचार्यले लक्ष्यको ८४।५७ प्रतिशतमात्र राजस्व संकलन गर्न सकेको बताए। कार्यालयको तीन अर्ब ७९ करोड ७१ लाख राजस्व उठाउने लक्ष्य राखेको थियो।
कार्यालयले आयकरबाट रु एक अर्ब ६९ करोड ९४ लाख, भाडा आयकरबाट तीन करोड ६४ लाख र ब्याजबापत ११ करोड ५९ लाख रुपैयाँ संकलन गरेको हो। यस्तै मूल्य अभिवृद्धि करबापत रु एक अर्ब २९ करोड पाँच लाख लाख तथा अन्तःशुल्कबापत रु ६४ करोड ४६ लाख ५५ हजार राजस्व संकलन गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी घटेको छ। गत आवमा मूल्य अभिवृद्धिकरबापत एक अर्ब ३७ करोड ८८ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।