धरानमा कोरोना सङ्क्रमित महिलाको मृत्यु


धरान, १ साउन ।
यहाँस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।प्रतिष्ठानका प्रवक्ता डा. कृष्णा पोखरेलका अनुसार सुनसरीको रामधुनी नगरपालिका ७ निवासी ५७ वर्षीया महिलाको उपचारका क्रममा शनिवार साँझ मृत्यु भएको हो । केहिदिन अघि ज्वरो र रुघाखोकी जस्ता लक्षण आएपछि कोरोना जाँच गराउदाँ विरामीमा संक्रमण पुष्टि भएको थियो ।
दीर्घरोगी रहेको उनले कोरोनाविरुद्धको दोस्रो डोज खोप पनि लगाइसकेकी थिइन् । यसभन्दा अघि पनि धरान सुनसरी जिल्लाकै १२ पालिकामध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमित भएको पालिका मानिन्छ ।
मृत्युदर पनि धरान नै पहिलो नम्बरमा आउने गरेको छ। पछिल्लो समय धरानमा एक हप्ताको अवधिमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।सबै सङ्क्रमित होम आइसोलेसनमै रहेको र उनीहरूका अवस्था सामान्य रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।
विराटनगरका एक हजार बढी कोभिड बिरामीलाई राहत
कोरोना महामारीले गर्दा उत्पन्न असहज परिस्थितिका कारण गरिबीको चपेटामा परेका विराटनगरका एक हजार ४८४ परिवारले सरकारबाट राहत सुविधा लिएका छन् । सरकारले कोरोना महामारीका कारण गरिबीको चपेटामा परेका नागरिकलाई राहत दिने घोषणा गरेको थियो । सोही घोषणाबमोजिम स्थानीय पालिकाहरुमा निकासा गरिदिएको रकम विराटनगर महानगरपालिकाले सम्बन्धित परिवारलाई उपलब्ध गराएको हो ।
सङ्घीय सरकारले कोरोना महामारीले गर्दा रोजगार गुमाएको र वैकल्पिक आयको व्यवस्था नभई गरिबीको मारमा परेका परिवारलाई जनही १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरेको थियो । सरकारको उक्त घोषणानुसार विराटनगर महानगरपालिकाका दुई हजार ८९ जनाका लागि राहत रकम प्राप्त भएकोमा एक हजार ४८४ जनालाई राहत उपलब्ध गराएको महानगरले जनाएको छ ।
सङ्घीय सरकारले राहतका लागि दुई करोड आठ लाख ९० हजार रुपियाँ निकासा पठाएको थियो । त्यसमध्ये एक करोड ४८ लाख ४० हजार रुपियाँ वितरण भएको र ६० लाख ५० हजार रुपियाँ वितरण हुन नसकी फर्किएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.