दमकमा ‘सिमिक्वा’ नाटक मञ्चन


दमक, १ साउन । किराँत धर्मग्रन्थ मुन्धुममा वर्णित सिमिक्वा (सिबिउ ) चरीको पुराकथामा आधारित नाटक ‘सिमिक्वा’ दमकमा मञ्चन गरिएको छ । नाटक लिम्बू भाषामा आधारित छ ।
स्थानीय कदम थिएटरमा असार २७ देखि असार मसान्तसम्म एक साता लामो नाटक मञ्चन गरिएको हो । नाटक चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको थियो ।नाटकका निर्देशक विक्रम वनेमका अनुसार ढुङ्गे युगमा एक जंगलको ओडारमा वृद्धा आमा र किशोरी छोरी जीवनयापन गरिरहेका हुन्छन् । साँझ–बिहानको गुर्जी टार्न आमा च्याउ र कन्दमूल खोज्न जंगल जान्छिन् । सिमिक्वा (छोरी ) चञ्चले छिन् । बाँसको धिरीमा पानी जोहो गर्नु, वनमा ऐंसेलु लगायतका फलफूल टिपी खानु सिमिक्वाको दैनिकी हुन्छ ।
नाटकका एकदिन सिमिक्वाले आमालाई दिनहुँ च्याउ खाँदा दिक्क लागेको सुनाउँछिन् । छोरीको खुशीका निम्ति आमा गिठ्ठा‚ भ्याकुर खोज्न जंगल जान्छिन्न् अनी साँझमा घर फर्किन्छिन् । थकान र तिर्खाले लखतरान भएकी उनले छोरीलाई पानी माग्छिन् । यहीवेला उनको आँखा अघिल्लो दिन जम्मा गरेको च्याउमा पर्छ । च्याउ अघिल्लो दिनभन्दा धेरै नै कम देख्छिन् । त्यसैले च्याउ राम्रो हेरचाह नगरेकाले चरा, मुसाले खाएको भनी उनले छोरीलाई गाली गर्छिन् ।
सिमिक्वाले आफ्नो गल्ती नभएको बताउँछिन् । छोरी मुखमुखै लागेको देखेर आमा क्रुद्ध हुन्छिन् र सिमिक्वालाई एकदुई लपेटा हान्छिन्, सराप्छिन् । त्यसले गर्दा सिमिक्वाको माङगेन्ना (शिर) ढल्छ । उनी रुन्छिन, कराउँछिन र अन्त्यमा घर छाडेर निस्किन्छीन् ।
भोलिपल्ट सिमिक्वाका निम्ति आमाले गिठ्ठा भ्याकुर खोजेर ल्याइदिन्छिन तर छोरी घरमा हुँदिनन् । यही वेला च्याउ हराएको नभई घामले सुकेर थोरै भएको उनले थाहा पाउँछिन् । सिमिक्वा निर्दोष भएको थाहा पाएपछि पश्चातापले जल्छिन र छोरी खोज्दै जंगल, भीर, पाखा र खोला किनार चहार्छिन् । यसै क्रममा खोलाले बगाएर आमाको निधन हुन्छ ।
मृत्युपछि उनको आत्मा सिमिक्वा चरीको रूप लिएर छोरीलाई खोज्दै हिँड्छ । आज पनि सिमिक्वा चरी कराएमा अपशकुन हुने किरात लिम्बू समुदायमा विश्वास छ । नाटकका अर्का निर्देशक चेतन आङथुपो भन्छन्,–‘ नाटकमा ढुङ्गे युगको सेटिङमा आमाछोरीको प्रेम र वियोगको कथालाई मर्मस्पर्शी रूपमा नाटकले चित्रण गरिएको छ । ’
निर्देशकद्वय वनेमविक्रम फागो र आङथुपोले तङसिङ र येबाको उपस्थिति गराएर पुराकथा र संस्कृतिको सम्बन्ध स्थापित गर्ने प्रयास गरेका छन् ।
नाटकमा नयाँ कलाकार मीना नेम्बाङ र पासाङ ल्हामु शेर्पाको अभिनय तारिफ योग्य छ । यसका साथै वनेमविक्रम फागो, मनकुमार योङहाङ, शिखर लाम्गादे र सविरन लाम्गादेको सशक्त अभिनयले नाटकलाई जीवन्त बनाएको छ । लिम्बू समुदायमा प्रचलित हाम्लक्वा (कसैको मृत्यु हुँदा शोक व्यक्त गर्दै लय तानेर रुने ) लाई पृष्ठभूमि संगीतका रूपमा प्रस्तुत गरिएको छ । जसले नाटकको दुःखान्तक परिवेशलाई जीवन्त बनाइराखेको छ ।
नाटकको कथा संकलन शिवकुमार श्रेष्ठ ,नाट्य रूपान्तरण सुमन लिङ्देन,भाषा अनुवाद डिल्ली मुसाहाङ अम्याङसाको र वेषभूषा राजकुमार आङदेम्बेको रहेको छ ।

Leave a Reply

Your email address will not be published.