
दमक,३२ असार । दमक नगरपालिकाको बजेट पारित हुनुका सट्टा विवाद चुलिँदै गएको छ । जिल्लामा सवै स्थानीय तहले बजेट पारित गरिसक्दा दमक नगरपालिकामा भने पटक पटक नगरसभा स्थगित हुन पुगेपछि विवाद झनै चुलिदै गएको छ । संविधानले तोके बमोजिमको समयावधिमा बजेट पारित हुन नसके पछि अहिले आएर एक अर्कालाई कमजोरी देखाउने कार्य थालेका छन् ।
२ दिन अघि एमाले पार्टीले पत्रकार सम्मेलन गरी नगरप्रमुखले पञ्चायती व्यवस्थामा जस्तो चरित्र देखाएको आरोप लगाएका छन् । यता आज गठबन्धन दलले पत्रकार सम्मेलन गर्दै नेकपा एमालले इतिहासमै नभएको र संविधान ऐन कानुनले परिकल्पना नगरेको स्थानीय सरकारमा छाया सरकारको अभ्यास गर्ने गरी एमाले जनप्रतिनिधिले दमक नगरपालिकामा प्रतिपक्ष दलको नेता र निजका लागि छुट्टै कार्यकक्ष, मोटर र अन्य सुविधाको माग राख्नु आपतिजनक विषय भएको बताएको छ ।
गठबन्धनका नेताहरुले एमालेले गत निर्वाचनमा हारेको तुष पोख्दा दमक नगरको बजेट पास हुन नसकेको संयुक्त गठबन्धन दलहरुले आरोप लगाएका छन् ।नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टि, नेकपा एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनले निर्वाचनमा अपेक्षा गरे भन्दा विपरितको परिणाम आएपछि एमालेले त्यसको तुष नगरसभामा पोखेको आरोप लगाएका हुन् ।
एमालेकै बहुमत सदस्य रहेको नगरकार्यपालिकाले पास गरिसकेको बजेट, नीति तथा कार्यक्रमलाई असफल पार्न आकस्मिक रुपमा नयाँ बिषयहरु उठाईएको प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको गठबन्धनले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ । नगरसभा कुनै पार्टीको निर्देशन र हैकममा चल्ने थलो नभएको भन्दै बिज्ञप्तिमा बहुमतको धम्की नदिन समेत एमालेलाई सचेत गराईएको छ ।
त्यसैगरी स्थानीय सरकारमा सत्तापक्ष र प्रतिपक्ष भनि संबिधानले परिकल्पनै नगरेको बिषयमा पनि एमालेले संसदिय दलको नेता चयन गरेको भन्दै संसदिय दललाई कार्यालय र दलको नेतालाई सवारी साधन सुबिधा माग गर्नु आपत्तिजनक बिषय भएको दलहरुले आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा कांग्रेस झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी,नगर सभापति प्रकाश प्रसाई, माओवादीका नगर अध्यक्ष रबि बस्नेत, राप्रपा नगर अध्यक्ष हेम सुबेदी, नेकपा समाजवदीका नगर अध्यक्ष महेश घिमिरे र जसपा नगर अध्यक्ष भेषराज भट्टराई लगायतले स्थानीय सरकारले नागरिकलाई प्रदान गर्ने सेवा प्रबाहमा समन्वय गरी जिम्मेवार भएर लाग्न एमालेलाई आग्रह गरेका थिए ।
्यसैवीच नगर प्रमुख थापाले दमकको समृद्धि र बिकासमा एक जुट हुनको बिकल्प नभएको बताएका छन् । प्रदेशवाणीसंग कुराकानी गर्दे उनले बहुमत र अल्पमतको भावना त्यागेर दमकको बिकासका लागि एकताबद्ध जुट्न ढिला गर्न नहुने औल्याए । नगरसभामा एमालेका जनप्रतिनिधिको बहुमतको दम्भले नगरसभाको बैठकलाई बदनाम गराएको भन्दै त्यसले कसैलाई फाइदा नगर्ने स्पष्ट पारेका छन् । साउन ३ गते पुनः तेश्रो पटक नगरसभा बैठक बस्दै छ । दुई पटक एमालेका जनप्रतिनिधिका कारण वजेट पारित नगरी स्थगित हुन पुगेको छ । साउन ३ को बैठकमा पनि नगरपालिकाको नीति तथा कार्यक्रमसहितको वजेट पारित हुने संभावना अत्यन्त न्यून हुदै गएको छ । फरक मतसहित शंसोधनको प्रस्ताव लिएर आन्दोलनरत जनप्रतिनिधिले शंसोधन नभएसम्म वजेट गर्न नसकिने जनाउ दिदैआएका छन् । नगर प्रमुख थापा,उपप्रमुख रेगिना भटटराईसहित १३ जना सदस्य गठबन्धनको छ । नगरसभामा एमालेको बहुमत छ ।
