बिर्तामोड, असार ३२। नेपाल पत्रकार महासंघ झापा शाखाले विभिन्न पालिकाको जनप्रतिनिधिमा निर्वाचित चार जना पूर्व पत्रकारलाई सम्मान गरेको छ ।शनिबार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पूर्व पत्रकार जनप्रतिनिधिलाई सम्मान गरेका हुन् ।
पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य रहेका अनिल वाग्ले तथा साधारण सदस्यहरु अग्निप्रसाद कोइराला, सुशन राई र उमेश राउतलाई सम्मानपत्र, खादा र माला पहिर्याएर सम्मान गरिएको हो । वाग्ले बुद्धशान्ति गाउँपालिका वडा नं १ को वडाध्यक्ष, कोइराला कमल गाउँपालिका वडा नं ३ को वडाध्यक्ष, राई माङ्सेबुङ गाउँपालिका इलामको कार्यपालिका सदस्य र राउत बिर्तामोड वडा नं ४ को वडासदस्यमा निर्वाचित भएका हुन् ।
महासंघ झापाले पत्रकारिता क्षेत्रका हालसम्म पुर्याएको योगदानको कदरसहित सम्मान र जनप्रतिनिधिको रुपमा निर्वाचित भएकोमा बधाई तथा कार्यकाय सफलताको शुभकामना व्यक्त गरेको छ । महासंघले सम्मानसहित उनीहरुलाई सक्रिय पत्रकारिताबाट विदाइ समेत गरेको छ ।कार्यक्रममा बोल्दै पूर्व पत्रकार जनप्रतिनिधिहरुले सञ्चारमैत्री पालिका र वडा बनाउँदै महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।