
केर्खा, १ साउन । झापाको कमल गाउँँपालिकास्थित लायन्स क्लव अफ केर्खाले एक जना असहाय परिवारलाई घर बनाईदिएको छ । कमल गाउँपालिका ४ स्थित सिद्धार्थ टोल निवासी शारीरक रुपमा अशक्त १८ वर्षिय मौसम राई र उहाँकी दिदि एलिना राईलाई बस्नका लागि लायन्स क्लव अफ केर्खाले लायन्स ‘लायन्स मनको घर’ निर्माण गरेको हो । जनमन गरि आएका ती राई दिदीभाई त्यहाँको एक घरमा लामोसमयदेखि भाडामा बस्दैआएका थिए ।
अभिभावकविहीन शारीरिक तथा आर्थिक अवस्था कमजोर राई दिदीभाईको अवस्था देखेर करिव रु ५ लाख खर्चिएर लायन्स घर निर्माण गरि परिवारलाई हस्तान्तरण गरिएको लायन्स क्लव अफ केर्खाका अध्यक्ष अग्नीप्रसाद कोइरालाले बताए । लायन्स डिष्ट्रिक ३२५ गभर्नर लायन रेवत बहादुर कार्कीको प्रमुख आतिथ्यतामा विहिबार एक कार्यक्रम गरि पीडितलाई घर हस्तान्तरण गरिएको उनले बताए ।
घर निर्माणका लागि क्लवमा आवद्ध सदस्य तथा विभिन्न मनकारी व्यक्तिबाट जम्मा भएको रु ५ लाख रुपैया भन्दा बढी रकम खर्च गरेर तीन कोठे जस्ता पाताले छाएको पक्की घर निर्माण गरिएको उनले बताए । क्लवले यसअघि गाउँपालिकाकै बाक्लो वजार क्षेत्र केर्खा वजार क्षेत्रमा फ्रि वाइफाइ गरेको छ ।
गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले लायन्स क्लवको कार्यको प्रंशसा गर्दे सरकारको दायित्वमा पर्ने कार्य लायन्सबाट भएको वताईन् । उनले सरकारले एक्लैले मात्र यस्ता काम गर्न नसक्ने भन्दै सवै क्षेत्रले यस्ता कार्य गर्न प्रेरित हुनुपर्ने उल्लेख गरिन् । लायन्सबाट घर पाएपछि राई दिदीभाईले आफूहरुका लागि अहिलेसम्मकै ठुलो खुसी प्राप्त भएको बताएका थिए ।