दमक,३२ असार । पूर्वी मोरङका सयौं मानिसलाई सामुदायिक वनको निगुरो नै रोजगारीको स्रोत बन्दै गएको छ । सामुदायिक वनमा पाइने निगुरोबाट सयौं परिवारले रोजगारी पाएका छन् भने उनीहरुको दैनिक जीवन गुजारा हुने गरेको छ । निगुरोको सिजन भएकाले पनि निगुरो टिप्नका लागि अहिले बन क्षेत्रमा सर्वसाधारणको घुइचो नै लाग्ने गर्दछ । बिहानैदेखि मोरङका सामुदायिक जङ्गलमा जाने मानिसहरुको सङ्ख्या उल्लेख्य हुने गरेको स्थानीयको भनाई छ ।
तरकारी व्यापारीहरु निगुरो किन्नका लागि निगुरो स्थलसम्म पुग्छन् । निगुरो टिप्नका लागि टाढा–टाढाबाट सामुदायिक जङ्गलमा जाने गर्छन् । पूर्वी मोरङका जङ्गलमा झिस्मिसेमै डोको बोकेर पस्नेको ठूलो सङ्ख्या देख्न सकिन्छ । चैत महिनादेखि कात्तिकसम्म निगुरो पाइने सिजनलाई केन्द्रित गरेर उनीहरु वर्ष दिनको आफ्नो गुजारा चलाउन जङ्गल धाउँछन् । झिस्मिसेमै जङ्गल पसेका मानिसहरुले करिब ११ बजेसम्म डोकोभरी निगुरो बोकेर निस्कन्छन् ।
सिरहा, सप्तरीदेखि झापाको काँकडभिट्टासम्मका व्यापारीहरु निगुरो टिप्न आउने गरेका छन् । पथरी शनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्गलगायतका सामुदायिक वनमा प्राकृतिक निगुरो पाइन्छ । यही निगुरोका कारण कतिपयको दैनिक गुजारा चल्ने गरेको छ ।
स्थानीय बजारदेखि काठमाडौंका भान्सासम्म पुग्ने यहाँको निगुरोले हजारौं मानिसलाई रोजगारी दिएको छ । लकडाउन अघि काठमाडौंसम्मका व्यापारी आएर निगुरो लैजाने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।
गतवर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि भने निगुरो निकासी लगभग ठप्प भएको उनीहरुको भनाइ छ । यसवर्ष भने पहिलाको तुलनामा निगुरो उत्पादन कम भएको निगुरो व्यापारी जितेन्द्र चौधरी बताउँछन् । करिब २० वर्ष अघिदेखि पथरी र बेलबारीबीचका जङ्गलको निगुरो सङ्कलन गरी धरान, विराटनगर, इटहरी, दमक, बिर्तामोड लगरे बिक्री गर्दै आएको उनले बताए ।
यसैगरी, अर्का निगुरो व्यापारी कौशिला माझी निगुरो बेचेरै आफ्नो दैनिक गुजारा चलिरहेको बताउँछन् । पथरी शनिश्चरे, लेटाङ, बेलबारी नगरका साझेदारी वन क्षेत्रमा दैनिक ३÷४ सय मानिसले निगुरो टिप्दै आएका छन् । धेरै मुजदुरले दैनिक निगुरो बेचेरै परिवार चलाउने गरेका छन् ।
यो क्षेत्रमा सय हाराहारी ठेकेदारले दैनिक ठूलो सङ्ख्यामा निगुरो सङ्कलन गरी विभिन्न बजारमा बिक्री गर्ने गरेका उनले बताए । दैनिक एक जनाले ३० देखि ७० मुठासम्म निगुरो टिप्ने गरेको उनीहरुको भनाइ छ । निगुरो टिप्ने एकजनाले दैनिक ४ सयदेखि ६ सय रुपियाँसम्म त कसैले दुई हजार रुपियाँसम्म कमाउने गरेको उनीहरु बताउँछन् ।
निगुरो टिप्न विद्यालय तहमा पढ्ने बालबालिकादेखि कलेज स्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । निगुरो टिप्नेमा बालबालिका र स्कुले विद्यार्थी मात्र हुँदैनन् ।
लकडाउनअघि पथरी शनिश्चरे, लेटाङ, बेलबारी क्षेत्रबाट दैनिक पाँच गाडी निगुरो काठमाडौं आउने गरेको थियो । पूर्वी मोरङमा पाइने अर्गानिक तरकारी निगुरोलाई ‘ब्राण्डिङ’ गर्न सके प्रदेशकै आम्दानीको स्रोत बन्नसक्ने प्रचुर सम्भावना रहेको निगुरो व्यापारी माझीको भनाइ छ ।
टनेलभित्रै फस्टायो तरकारी खेती
झापामा टनेलभित्र रायो साग फस्टाउदै गएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदान दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । तर यसको बजार माग बाह्रै महिना उच्च रहेका कारण झापाका किसानले बर्खे मौसममै आधुनिक प्रविधिबाट अग्र्यानिक रायो साग उत्पादन गरेर लाभ लिन थालेका छन् ।
पुनम कृषि फार्ममार्फत बिर्तामोड नगरपालिका–७ की पुनम तिम्सिनाले १५ दिनको अन्तरालमा रु एक लाख ५० हजारको बर्खे रायो साग बिक्री गरेको बताए । कृषि ज्ञान केन्द्र झापाले टनेल निर्माणका लागि फार्मलाई ५० प्रतिशत रकम अनुदान दिएको छ । अनुदान पाएपछि उत्साही भएर रायो सागको खेती विस्तार गरिरहेको उनले बताईन् ।
बेर्ना लगाएको एक महिनामै बिक्रीका लागि तयार हुने बैमासमी रायो साग प्रतिमुठा रु ५० का दरले बारीबाटै बिक्री हुँदै आएको उनले बताए । “अहिले रायो सागको सिजन होइन, अरुले उत्पादन गरेका छैनन् ”, उनले भने , “त्यही भएर महँगो दरमा बिक्री हुँदा आम्दानी धेरै भएको हो ।” तिम्सिनाले २० टनेल बनाएर रायो सागको व्यावसायिक खेती गर्दै आएका छन् । सुरुमा एउटा टनेल बनाएर खेती सुरु गरेकी उनले राम्रो आम्दानी भएसँगै थप २० प्लाष्टिक टनेल बनाएर सागखेती गरेको बताईन् ।
ज्ञान केन्द्रले तरकारी खेतीलाई प्रवर्धन गर्नका लागि टनेल बनाउन रु ६ लाख १२ हजार रकम ५० प्रतिशत अनुदान दिएपछि उनले रु ११ लाख ८८ हजार थपेर रु. १८ लाखमा २० आरसिसी पिलरमा प्लाष्टिक टनेल निर्माण गरेर सागको व्यावसायिक खेती गर्दै आएको छ । उनलाई साग उत्पादनमा उनका श्रीमान शान्तिरामले साथ दिँदै आएका छन् । तिम्सिनाले थप चार स्थानीयलाई समेत रोजगारी दिएको छ ।
मेचीनगर नगरपालिका–२ बाहुनडाँगीका खगेन्द्रबहादुर भुजेलले पनि माता कृषि फार्ममार्फत बैमौसमी रायो सागको खेती गर्दै आएका छन् । उनले दुई सातामा रु दुई लाखको रायो साग बिक्री गरेको बताए । जिललाकै अति दुर्गमस्थलमा सागको खेती गरेका भुजेलले उत्पादन गरेको साग बिक्रीका लागि बिर्तामोडस्थित कृषिथोक बजारमा पु¥याउने गरेको बताए । विगत नौ वर्षदेखि तरकारी खेती गर्दै आएका भुजेललाई तरकारी खेती प्रवद्र्धनका लागि टनेल निर्माणमा ज्ञान केन्द्रले रु ६ लाख १२ हजार ५० प्रतिशत अनुदान रकम प्रदान गरेको छ ।
रायो सागको खेती गर्दा बाह्रैमास हुने र आम्दानी पनि राम्रो हुने हुँदा पछिल्लो समय यसको खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए । उनले बेर्ना तयार गरेर लगाएको एक महिनामै सागले राम्रो आम्दानी दिने हुँदा केन्द्रले साना किसानलाई व्यावसायिक अग्र्यानिक तरकारी खेतीमा प्रोत्साहन गरिरहेको बताए । टनेल निर्माणका लागि चालु आर्थिक वर्षमा २० किसानका कृषि फार्मले अनुदान पाएको उनले बताए ।