दमक,३१ असार । पछिल्ला वर्ष सर्प डसाईका विरामी घट्दै गएका छन् । दमकमा २०५५ सालदेखि सञ्चालनमा आएको सर्पडसाई उपचार केन्द्रमा विगत वर्षमा १५ सय हाराहारीका सर्प डसाई विरामी उपचार गर्न आउने गरेको भएपनि अहिले आएर ८ सयको हाराहारीमा पुगेको छ ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाले सञ्चालन गरेको सर्प डसाई उपचार केन्द्रमा चालु वर्षको ३० असारसम्म ८१३ जनाले सेवा लिएका छन् । सर्प डसाईबाट हुन सक्ने जोखिमका बारे सचेतनासंगै सर्प आफै लोप हुदै गएका कारण पनि पछिल्ला वर्ष सर्प डसाईका घटनामा कमी आएको हुन सक्ने उपचार केन्द्रका प्राविधिक स्वास्थ्यकर्मी गंगाप्रसाद उप्रेतीको अनुमान छ ।
उनका अनुसार केन्द्रमा एकबेला १५ सयका हाराहारीमा सर्प डसाइका विरामीले उपचार पाउदै आएकोमा अहिले भने मुश्किलले ८ सयका हाराहारीमा सर्प डसाईका विरामीले उपचार पाएका छन् । सर्प डसाईका घटना मध्ये करिव १० प्रतिशत जति बिषालु सर्पका हुने छन् । तराईमा विषालु मध्ये गोमन,करेत, धामन,कोब्रा लगायतका पाईन्छन् ।
सर्पडसाई उपचारमा जिल्लाकै एक पूरानो यस स्वास्थ्य संस्थामा ६ जना प्राविधिक स्वास्थ्यकर्मीहरु कार्यरत छन् । केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीले जाडोयामका समयमा छिटफूट बाहेक अन्य सवै समयमा सर्पको प्रकोप हुने गरेको बताए । केन्द्रमा गर्मीयाम र बर्षातका समयमा दैनिक ७,८ जना सर्पडसाईका विरामी उपचार गर्न आउने गरेको उनले बताए ।
गर्मी तथा पानी परेका बेला प्राय रातिपख सर्प चरनका लागि बाहिर निस्कने गरेको र त्यसैवेला मानिसलाई डस्ने गरेको उनको भनाई छ । उनी भन्छन् , –‘सर्पले डस्नासाथ छिटो छरितो उपचार गर्न सर्प डसाई उपचार केन्द्रमा आए अकालमै ज्यान गुमाउनु पर्ने अवस्था कहिल्यै आउदैन् ।’
सर्प डसाईबाट एक सातामा दुई पटक उपचार गर्न आएकी झापा, गौरीगञ्जकी चन्द्रा स्वर्णकारले दमकको रेडक्रसले सञ्चालन गरेको उपचार केन्द्रबाट हामी जस्ता सर्वसाधारणहरुले राहत पाएको बताउँछिन् । आइतवार विहान घाँस काट्न गएकी बखत सर्पले डसेको भन्दै उनले सर्प डसाईबाट अकालमै हुने मृत्युको जोखिम न्यूनीकरण गर्न अझै सचेतना आवश्यक भएको ठान्छिन् । ‘सर्पले डसेपछि झारफूक, धामीझाक्री लगाउनु विल्कुल हुदैन ’ उनले जतिछिटो सर्प डसाई उपचार गर्ने स्वास्थ्य संस्थामा लैजानु पर्ने बताउँछिन् ।
नेपाली सेनाले झापाको चारआलीमा सञ्चालन गरिआएको सर्पडसाई उपचार केन्दपछि दमकको रेडक्रसले सर्प डसाई उपचारको सेवा उपलव्ध गराउदैं आएको छ । दमकको सर्प डसाई उपचार केन्द्रमा झापासहित पूर्वी मोरङ, इलाम, पाँचथर र भारतिय सिमा सम्मका बासिन्दाले उपचार पाउदै आएका रेडक्रस उपशाखा सभापति प्रकाश बुढाथोकीले बताए ।
अध्ययन अनुसार सर्प डसाईका घटनाले विशेषत तल्लो समुदाय प्रभावित हुदैआएका छन् । गाउँघरमा खेतीको काम गर्ने, घाँस दाउराको काम गर्दा तथा रातीपख सर्प लुक्ने झाडी लगायतका स्थानमा हिडडुल गर्दा सर्पले डस्ने गरेको छ ।
उनले सर्प डसाईबाट सावधानी अपनाउन सके यसको डसाईबाट अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आउदै नआउने दावी गर्नुहुन्छ । सर्पले डसेहाले जतिछिटो उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु पर्ने भन्दै उनले जस्तोसुकै सर्पले डसेपनि शतप्रतिशत सफल उपचार हुने बताए ।यसैवीच , गौरीगञ्ज गाउँपालिकाले गतवर्षदेखि नै पालिका भित्रका कुनै पनि नागरिकलाई सर्पले डसे उपचार निशुल्क गर्ने व्यवस्था गरेको छ । गतवर्ष उक्त कार्यक्रमबाट ३३ जनाले त्यस सुविधा प्राप्त गरेको केन्द्रको तथ्यांकमा उल्ेख छ । केन्द्रले सर्प डसाईको उपचार अत्यन्त न्यून शुल्क रु २ हजार २ सय ५० रुपियामा नै उपचार गरिआएको छ ।