हात्तीको दाह्रासहित अर्जुनधाराका राई पक्राउ


दमक,३१ असार । संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी )ले काठमाडौँ महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संलग्न इलाम घर भई हाल झापा, अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी बस्ने २५ वर्षीय रमेश राईलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट प्रहरीले १५.६८ किलोग्राम हात्तीको दाह्रा बरामद गरिसकेको छ ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले विसं २०७८ फागुन २७ गते काठमाडौँमा हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन गरी फरार रहेका राईलाई झापाको खुदुनाबारीबाट विहिबार पक्राउ गरिएको जानकारी दिए ।
यसअघि हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन संलग्न झापाका ५८ वर्षीय भक्तिकुमार लिम्बू र झापाकै ४२ वर्षीय अशोक कार्की र पाँचथरका ४३ वर्षीय रमेश सुवेदी पक्राउ परिसकेको प्रहरीले जनाएको छ । राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रवक्ता महतोले बताए ।

Leave a Reply

Your email address will not be published.