दमकमा प्रदेशस्तरीय अन्तर क्याम्पस फुटसल प्रतियोगिता

दमक,२९ असार । झापाको दमकस्थित स्वतन्त्र बिद्यार्थी युनियन दमक बहुमुखी क्याम्पसले पहिलो पटक कोशी प्रदेशस्तरीय अन्तर क्याम्पस फुटसल प्रतियोगिता गर्ने भएको छ ।स्ववियुले शुक्रबार कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका बिषयमा विस्तृत जानकारी गराएको हो । पत्रकार सम्मेलनमा स्ववियु सभापति सोविम न्यौपानेले साउन ७ देखि १० गते सम्म सञ्चालन गरिने फुटसल प्रतियोगितामा प्रदेशभरका कूल २१ वटा क्याम्पसहरुबाट सहभागिता रहने जानकारी दिए । फूटसल दमक -९ स्थित रणभूमि फूटसल मैदानमा हुने छ ।
प्रतियोगिता सम्पन्न गर्न सचिव दिपक लिम्बूको संयोजकत्वमा प्रतियोगिता मूल समिति गठन गरिएको र विभिन्न ६ वटा उपसमितिहरुले आवश्यक तयारीहरु गरिरहेको सभापति न्यौपानेले बताए ।
प्रतियोगितामा सहभागी हुन आउने टाढाका फुटसल टिमहरुलाई आवासीय व्यवस्थापन समेत आयोजकले गर्ने गरि तयारी गरिरहेको मूल संयोजक लिम्बुले बताए । उनका अनुसार यो प्रतियोगिता ऐतिहासिक महत्व राख्ने किसिमको भएकाले यसलाई दमककै शान र प्रतिष्ठाका रुपमा लिन दमकबासीहरुलाई आग्रह गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद एक लाख राशीको पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने स्ववियु दमक बहुमुखी क्याम्पसकी कोषाध्यक्ष उमा राईले जानकारी दिइन् ।उनले प्रतियोगिता सञ्चालनमा कूल १२ लाख रुपैयाँ विविध शिर्षकमा खर्च हुने भएकाले दमक बहुमुखी क्याम्पस, दमक नगरपालिकासहित विभिन्न यहाँका शैक्षिक तथा खेलकुदप्रेमी सरोकारवालाहरुबाट सहयोगको अपेक्षा राखिएको बताइन् ।
प्रतियोगितामा सहभागी टिमहरुको बीच उपाधिका लागि प्रतिस्पर्धा हुने र दमक बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी तथा स्थानीय सञ्चारकर्मीहरुका बीचमा मैत्रीपूर्ण फुटसल पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.