दमकको नगरसभामा सहभागी नहुने एमालेको चेतावनी

दमक, ३० असार । नेकपा एमालेले फरक मतसहितको नीति तथा कार्यक्रम नआए दमकको नगरसभामा सहभागी नहुने चेतावनी दिएको छ । दमकमा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले सार्वजनिक महत्वको प्रस्तावलाई नगर प्रमुख राम थापाले समेट्न अस्वीकार गरेको दाबी गरेका छन् । आज उनीहरुले पत्रकार सम्मेलन गर्दै नगरबासीका हितका केही बुँदा संशोधन गर्न माग गरिएपनि नगर प्रमुखले त्यसमा चासो नदिएको आरोप लगाए ।

नेकपा एमालेका तर्फबाट संसदीय दलका संयोजक लोकबहादुर धिमालले नगरसभा सदस्यलाई अपमानजक रुपमा संशोधन प्रस्ताव राख्न नदिएको बताए । उनले गाउँ –नगरसभा सञ्चालन ऐनको दफा २९ को व्यवस्था विपरित प्रमुख थापाले बोल्न नदिएको आरोप लगाए । असार २७ गतेको नगरसभाको दोस्रो बैठकमा नगरसभा सदस्य कमल श्रेष्ठले राख्न खोजेको संशोधनको प्रस्ताव राख्न नदिएको विरोधमा एमालेले हिजो बुधबारको नगरसभाको बैठक बहिस्कार गरेको थियो । धिमालले एमालेका तर्फबाट राखिएको पुरक प्रस्ताव, नीति तथा कार्यक्रममा समाबेश नभएसम्म नगरसभा सञ्चालनको वातावरण नबन्ने बताए । ‘अपमानजनक रुपमा नगरसभा सदस्यलाई बोल्न दिइएन, नगरसभामा सार्वजनिक महत्वको प्रस्ताव राख्न नदिने यो पञ्चाती प्रवृत्ति तुरुन्तै सच्याउन आग्रह गर्दछौं’ उनले भने,‘हामी पनि जनप्रतिनिधि हौं, हाम्रा पनि नागरिक प्रतिको दायित्व छ, तर एकलौटी ढंगमा गरिए हामी सहभागी हुने छैनौं ।’

दमक नगरपालिकाका निवर्तमान मेयर रोमनाथ ओलीले सबै पक्षको माग समेटेर नगरसभा अघि बढाउनुपर्नेमा प्रमुखले एकलौटी ढंगले लगेको आरोप लगाए । कार्यपालिका सदस्य शारदा भट्टराई, नविन बरालले प्रकृया नपुर्याइ कतिपय प्रस्ताव प्रमुखले सिँधै सभामा टेबल गरेकाले समस्या निम्तिएको बताए । ‘बैठकको कार्यसूची कार्यपालिका सदस्यलाई एउटा पठाउने, अनि सभामा अर्कै सूची राख्ने गरिएको छ’ बरालले भने,‘ हाम्रा माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता पुरा नभएसम्म सभा चल्दैन ।’ यसअघि असार १० मा भएको नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । यस्तै २७ गतेको अर्को बैठकमा एमालेको फरक मत राख्न नदिएसँगै सभा स्थगित भयो । असार २९ गतेको तेस्रो बैठकमा एमालेले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेकाले गणपुरक संख्या नपुगेर साउन ३ गतेसम्म सभा स्थगित भएको छ ।

बजेट पारित नभए के हुन्छ ?
स्थानीय सरकार सञ्चालन ऐनले नगर सभाबाट बजेट र नीति कार्यक्रम पारित गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । तर नगरसभाबाट पारित हुन नसके के व्यवस्था गर्ने रु भनेर ऐनमा उल्लेख गरिएको छैन् । स्थानीय सरकारको सभा सञ्चालन गर्न सर्वसम्मतबाट गरिनुपर्ने भन्ने मान्यताका साथ यस्तो व्यवस्था हुन सक्ने जानकारहरु बताउछन् । स्थानीय तहमा लामो समय सम्म काम गरेका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले नगर सभा बाहेक अन्यत्रबाट बजेट ल्याउन सक्ने कानुनी व्यवस्था नभएको बताए । उनले स्थानीय तह पनि सरकार नै भएका कारणले सदन या सभा मार्फतबाटै बजेट ल्याउनुपर्ने व्यवस्था भएको उल्लेख गरे ।
झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले बजेट पारित नभए कर्मचारीको तलब भत्ता बाहेक अन्य कुनै रकम खर्च गर्न नपाउने बताए । कानुनले बजेट पास नहुने भन्ने विषयको परिकल्पना गरेको देखिएन, उनले भने, नगर र गाउँ सभा सहमतिकै आधारमा बजेट पारित गरिने प्रचलन समेत छ । उनले बजेट पारित नभए बिकास निर्माण सँगै अन्य योजनाको काम समेत रोकिने बताए ।
दमकमा के हुन्छ ?
प्रतिपक्षी एमालेको माग सम्बोधन नभएसम्म दमकमा नगर सभा चल्ने वातावरण बन्ने देखिदैन । दमकमा कुल ५५ जना मध्ये ४३ जना एमालेबाट निर्वाचित नगर सभा सदस्य छन् । गुणपुरक संख्या पुग्न ५१ प्रतिशतको उपस्थिति हुनुपर्छ । तर गाउँ नगर सभा सञ्चालन ऐन २०७५ को दफा १४ बमोजिक २ पटक सम्म गणपुरक संख्या नपुगे तेस्रो पटक एक तिहाइ सदस्यको उपस्थितिमा सभा गर्न सकिने व्यवस्था छ । तर गठबन्धनबाट बिजयी दल सँग त्यो संख्या नै अपुग छ । दमकमा नगर सभा सञ्चालनका लागि एमाले बैठकमा उपस्थिति अनिवार्य देखिएको छ ।

Leave a Reply

Your email address will not be published.