
पथरिशनिश्चरे, २९ असार । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर ) मार्फत लुथरन विश्व फेडेरेशनले निर्माण गरिदिएको पूर्वी मोरङको पथरीशनिश्चरेस्थित नगर अस्पतालको भवन हस्तान्तरण भएको छ ।
युएनएचसीआर प्रतिनिधि विष्णु थापा, लुथरनका लिलबहादुर कार्कीसहितले नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, सामाजिक विकास समिति संयोजक कपिलमणि ढकाल, सदस्य भद्रमान विश्वकर्मा, अस्पतालका मेडिकल अफिसर डा.सावनकुमार मेहता, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य लगायतको उपस्थितिमा नगरले हाल कोरोना संक्रमितहरुको उपचारार्थ प्रयोग गरिरहेको उक्त भवन हस्तान्तरण गरेका हुन् ।
नगरका तर्फबाट नगर प्रमुख राई, उपप्रमुख वास्तोला सहितले भूटानी शरणार्थी प्रभावित क्षेत्रका हिसावले युएनएचसीआरले पुर्याउँदै आएको विविध सहयोगप्रति आधार एवम् धन्यवाद व्यक्त गरिन्।
नगरले कोरोना संक्रमितहरुका लागि आइसोलेसन वार्ड सञ्चालन गरिरहेको सो भवनको निर्माणको लागि उक्त दातृ निकायले एक करोड ३ लाख ३८ हजार ३ सय ६० रूपैयाँ खर्चेको हो । कोरोना संक्रमितका आईसोलेसन संचालन गर्न उक्त भवन परिसरमा वालुवा गिटी लगाई फिलिङ गर्नुकासाथै मार्वल टायल राख्न नगरपालिकाले साढे आठ लाख बराबरको रकम खर्च गरेको नगरका जनस्वास्थ्य कार्यालय संयोजक मुरारी आचार्यले जानकारी दिए ।