पथरी -११ फुटबल क्लबको कार्यालय उद्घाटन

पथरी शनिश्चरे, २९ असार । मोरङको पथरी शनिश्चरेमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गराउँदै आएको पथरी ११ फुटबल क्लबले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ ।
पथरी शनिश्चरे वडा नं १ शिखर चोकमा शनिवार एक कार्यक्रमका बीच संघीय सांसद डिगबहादुर लिम्बू, कोशी प्रदेश सांसद मानबहादुर लिम्बू र पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले संयुक्त रूपमा कार्यालय उद्घाटन गरे ।
कार्यालय उद्घाटनका क्रममा मोरङ निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद तथा पूर्व संघीय खेलकुद मन्त्री लिम्बूले खेलाडीहरूले खेल क्षेत्रको विकासका लागि अनुशासन, गतिशीलता र प्रतिबद्धता जरुरी रहने प्रसङ्ग कोट्याउँदै भावी पिंढीले थप उत्साहका साथ खेल क्षमता विकासका लागि लाग्नु पर्ने जोड दिए ।
सोही अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले खेलाडी उत्पादन र क्षमता विकास गराउन हरेक वर्ष पथरी शनिश्चरे नगरपालिकाले खेलकुद महोत्सव अन्तर्गत विभिन्न खेलकुदका विधाहरु आयोजना गर्दै आएको जानकारी दिए ।
कार्यक्रम पथरी ११ एफसीका अध्यक्ष सुमन विकको अध्यक्षतामा भएको थियो भने पथरी शनिश्चरे वडा नं १ का वडाध्यक्ष भीमकुमार राईले समेत शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.