
२९ असार । पश्चिमी अमेरिका र क्यानडामा पछिल्लो हप्ताको भीषण गर्मी -हिटवेभ_का कारण क्यानडाको आसपासका समुद्रमा एक अर्बभन्दा बढी समुद्री जीवको मृत्यु भएको छ ।
अत्यधिक गर्मीले ब्रिटिस कोलम्बिया प्रान्तमा पाँच सयभन्दा बढी व्यक्तिको ज्यान लिएको छ र सयौँ ठाउँमा आगलागीका कारणसमेत बनेको छ । तर विज्ञहरूका अनुसार यसले समुद्री जीवनमा पनि विनाशकारी प्रभाव पारेको छ । समुद्री जीवको सामूहिक मृत्युले पानीको गुणस्तरलाई असर गर्नुको साथै सम्पूर्ण इकोसिस्टमलाई जोखिममा पारेको छ ।
युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाको मरिन बायोलोजिस्ट क्रिस्टोफर हार्लेले समुद्री तटको सहारा लिएर बनाएको मोडकको आधारमा मृत जीवको सङ्ख्या अनुमान गर्दै हिटवेभका कारण एक अर्बभन्दा बढी समुद्री जीवको मृत्यु भएको जनाएका हुन् । उनका अनुसार समुद्री किनारमा जताततै मृत र सुकेका शङ्खे किरा र सी स्टार देखिएको र नराम्रो गन्ध आइरहेको छ ।
केही जीवलाई तातो पानीले पकाएको जस्तो देखिन्थ्यो । जुन महिनाको अन्तिम दुई हप्तामा क्यानडा र उत्तर–पश्चिम अमेरिकामा अत्यधिक गर्मी भएको थियो । तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढीसम्म पुगेको थियो । आगामी हप्तामा अमेरिका र दक्षिण–पश्चिमी क्यानाडामा अर्को हिटवेभले प्रहार गर्ने जनाइएको छ । -द गर्जियन-