
कमल,२९ असार । जिल्लाको कमल गाउँपालिका वडा न.६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाले आफ्ना ५० जना बाख्रापालन गर्ने कृषक सदस्यहरुलाई सहयोग तथा अनुदान प्रदान गरेको छ ।
संस्थाले किसानका लागि आवश्यक औषधि, भिटामिन र मिनरल्स साथै नगद बितरण गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत कमल गाँउपालिकाबाट प्राप्त भएकोे बाख्राको साना ब्यवसायिक कृषि उत्पादन क्षेत्र पकेट कार्यक्रम अन्तर्गत रु १५ लाख र संस्थाको तर्फबाट रु १२ लाख गरि जम्मा रु २७ लाख रुपैयाँमा सञ्चालित कार्यक्रम अन्तर्गत सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा ३०० बाख्र्राको निशुल्क बिमा, कृषकहरुलाई डालेघाँस, ५० जना कृषकलाई ५० वटा उन्नत माऊ बाख्रा, ५० वटा बाख्राको खोर मर्मत , औषधि मिनरल्स,भिटामिन समेत बितरण गरिएको सो संस्थाका प्रबन्धक टंक प्रसाद पराजुलीले जानकारी दिए ।
कार्यक्रम साना किसान बाख्रा पकेट संचालक समिति अध्यक्ष लछिमा देवी प्रसाईको अध्यक्षता र संस्थाकी अध्यक्ष तिलरुपा बास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
यसबर्ष पनि संस्थाले आफ्नो खर्चमा १५ जना पशुपालक किसानलाई बिऊ बोका र बंगुर प्रदान गरेको उनले जनाएकी छन् । यसका साथै उक्त कार्यक्रममा नेपाल लाइभस्टक इनोभेसन, बिकेन्द्रीकृृत आयोजना बिराटनगरबाट प्राप्त सहयोगबाट ११ जना कृषकहरुलाई भकारो सुधार तथा मलमुत्र ब्यवस्थापन बापतको नगद सहयोग हस्तान्तरण गरिएको थियो ।