झापाको बुद्धशान्ति अस्पताल : तीनपटक उद्घाटन

झापा,२८ असार  । झापा बुद्धशान्ति गाउँपालिकास्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल तीन पटक उद्घाटन गरिएको छ । अस्पताल सञ्चालनको छ वर्षको अवधिमा अस्पताललाई तीन पटक उद्घाटन गरिएको हो ।

२०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शैय्यामा सञ्चालित छ । अस्पतालले बिमा सुविधा, ल्याब, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध गराउदै आएको छ ।
सो अस्पतालको पहिलो पटक बुद्धशान्ति गाउँपालिकाका तत्कालीन अध्यक्ष रमेश भुजेल र उपाध्यक्ष मीरा भुर्तेलले उद्घाटन गरेका थिए । उनीहरुले ‘स्वास्थ्य विमा कार्यक्रमसहितको बुद्धशान्ति अस्पताल’ नामक व्यानरमा २०७७ जेठ २२ गते आइतवार उद्घाटन गरेका थिए । जसको आयोजक बुद्धशान्ति गाउँपालिका एवं बुद्धशान्ति अस्पताल व्यवस्थापन समिति रहेको थियो ।

सोही अस्पताल दोस्रो पटक २०८१ असोज १० गते बिहीवार उद्घाटन गरिएको थियो । भागीरथा बुद्धशान्ति अस्पतालको नाममा जग्गादाताद्वय हरि न्यौपाने तथा कुलप्रसाद न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरेका थिए । आफूहरूकी दिवंगत आमा पूर्वप्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा १५ कट्ठा जग्गा दान गरेका न्यौपाने दाजुभाइद्वारा उद्घाटन गराइएको थियो ।
सोही अस्पताल तेस्रो पटक आज २०८२ असार २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रम ओलीले अस्पतालको शिलालेख अनावरण गरे भने दोस्रो पटक भागीरथाका छोरा बुहारी कुलप्रसाद न्यौपाने र गंगादेवी न्यौपानेलाई ओलीले रिवन काट्न लगाएका छन् । शुरुमा बुद्धशान्ति अस्पताल नामाकरण गरिएकोमा गत वर्ष दाताहरुले उद्घाटन गर्ने बेलामा नाम परिवर्तन गरी भागिरथा बुद्धशान्ति अस्पताल राखिएको थियो । अहिले आएर भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल भएको छ ।
यसरी एउटै अस्पताल तीनपटक उद्घाटन भएपछि सामाजिक संजालमा त्यसको आलोचना भएको छ ।

साउन १ गतेदेखि अस्पतालमा २४ घण्टै उपचार
अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन् । जसमध्ये पालिकाले आफ्नै स्रोतबाट तीन जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ ।

बहिरंग र अन्तरंग चिकित्सकीय सेवा अन्तर्गत अस्पतालमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसुति उपचार, शिशु तथा बाल स्वास्थ्य उपचार, सामान्य दन्त सेवा, प्राथमिक आँखा उपचार, प्रयोगशाला सुविधा, फार्मेसी सुविधा, एक्स रे सुविधा र मुटुको इको सेवा सञ्चालन भइरहेको छ ।
यही साउन १ गतेदेखि अस्पतालमा २४ घण्टै उपचार र बर्थिङ सेवा प्रदान गरिने अध्यक्ष मनोज प्रसाईले बताए । उनका अनुसार पालिकाले गत जेठ २६ गते भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८२ लाई बुद्धशान्ति राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ ।
कार्यविधि अनुसार पालिकाका अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष रहने व्यवस्था छ । अस्पताल सञ्चालनका लागि कार्यविधिले छुट्टै कोषको समेत व्यवस्था गरेको छ ।
इलाम जिल्लासँग सीमा जोडिएको बुद्धशान्ति गाउँपालिकाको एक मात्र सरकारी अस्पतालको रुपमा रहेको यस भागीरथा अस्पतालले बुद्धशान्तिको ५३ हजार जनसंख्यालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछ भने दक्षिणी इलामबाट आउने सेवाग्राहीले समेत उपचार पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published.