सहकारीको लाखौं रकम ठगी गर्ने ३ जना कारागार चलान

पथरीशनिश्चरे, २५ असार । सहकारी संस्थाको रकम ठगी गरेको कसुरमा मोरङ जिल्ला अदालतले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । कारागार चलान भएकाहरूमा मोरङ्गको पथरी शनिश्चरे ६ मा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थामा व्यवस्थापक पदमा कार्यरत ४४ वर्षका राजेन्द्र तामाङ , लेखा सहायक ४६ वर्षे विश्वनाथ चौधरी र संस्थामा अध्यक्ष पदमा कार्यरत ४५ वर्षे लाल बहादुर भण्डारी रहेका छन्।
सुनदह सहकारी संस्था पथरीशनिश्चरे नामक सहकारी संस्था सञ्चालनका नाममा बचतकर्ता तथा ऋणीहरूको लाखौं रुपैयाँ बराबरको रकम ठगी गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई आज अदालतले कारागार चलान गर्न आदेश दिएको हो।
ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले केही हप्ता अघिदेखि उनीहरूलाई पक्राउ गरी ठगी सम्बन्धि कसूरमा अनुसन्धान गरिरहेको थियो।
उनीहरूविरूद्ध शेयर सदस्य तारा खड्का सहित ९८ जना बचतकर्ताहरूको जम्मा ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना गरी सहकारी संस्था बन्द गरी बचत तथा शेयर रकम फिर्ता नगरेको भन्दै गत जेठ अन्तिम साता ईलाका प्रहरी कार्यालय पथरीमा उजुरी दर्ता भएको थियो।

Leave a Reply

Your email address will not be published.