झापा ,२५ असार। झापामा हालसम्म ५३ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । धान खेतीका लागि उर्वरभूमि मानिने झापामा गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी गणेश शिवाकाटीले जानकारी दिए ।
उनका अनुसार समयमै वर्षा सुरु भएको र किसानले पाउने मलमा समेत समस्या नभएका कारण गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ गर्न सकिएको हो ।
जिल्लामा यसवर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ । सोमध्ये ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ । हाल दैनिक वर्षा भइरहेकाले खोला पैनीमा समेत पानीको बहाव बढेका कारण किसानलाई रोपाइँका लागि पर्याप्त पानी पुगिरहेको उनको भनाइ छ ।
जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना छन् । कृषि ज्ञानकेन्द्र झापाले धान खेतीमा नवीनतम मसिनरी प्रयोग कार्यक्रमअन्तर्गत कनकाई नगरपालिका र गौरादह नगरपालिकामा ३५ कट्ठा जमिनमा छरुवा धान खेतीसमेत गरिएको जानकारी दिएको छ ।
शिवाकोटीका अनुसार कनकाई नगरपालिकाको विनुबाजा कृषि सहकारी संस्थाले २५ कठ्ठा र गौरादह नगरपालिकामा रहेको महारानी झोडा कृषि सहकारी संस्थाले १० कठ्ठामा ज्ञान केन्द्रको सहयोगमा छरुवा धानको खेती गरेका छन् । जिल्लामा यही रफ्तारमा रोपाइँ चलेमा साउनको पहिलो हप्तासम्ममा धान रोपाइँ सकिने अनुमान गरिएको छ ।