झापा, २४ असार । जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ । “बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आएका छन् ”, अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा सकुशल औषधि पसल सञ्चालक स्वास्थ्य सहायक कलम निरौलाले भने , “एक हप्ता जति भयो, शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो आएका मानिस आउन थालेका छन् , बिहीबार मात्र १०० जनालाई औषधि दिएर पठाएँ ।”
उनले दैनिक हात, खुट्टा, घाँटीमा ससाना फोका लिएर चिलायो र पोल्यो भन्दै आएका सोही रोगका सङ्क्रमितहरुलाई ‘एन्टिभाइरल क्रिम’ दिएर पठाउँदै आएको जानकारी दिए । उनका अनुसार सोही क्रिम घाउमा लगाएको दुईदेखि तीन दिनभित्रमा निको हुने गरेको छ ।
उनले स्थानीय मेडिकलहरुमा एन्टिभाइरल क्रिम किन्न आउनेको भीड लाग्ने गरेको बताए । विगत सात वर्षदेखि औषधि पसल सञ्चालन गर्दै आएका निरौलाले पहिलोपटक यति धेरै मात्रमा एन्टिभाइरल क्रिम बिक्री गरेको जानकारी दिए । उनले एक हप्ताको अन्तरालमा झण्डै ४०० भन्दा बढीलाई सो क्रिम बिक्री गरेको जानकारी दिए ।
मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा स्वास्थ्यचौकीका प्रमुख लेखनाथ खतिवडाले शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो भएका धेरै नै बिरामी आइरहेको बताए । उनका अनुसार हाल बालबच्चा र ज्येष्ठ नागरिकहरुमा सो समस्या बढी देखिएको छ । “नाइरोवी हो होइन हामीलाई थाहा छैन, आधिकारिक रुपमा पुष्टि भएको छैन”, उनले भने “डढुवा घाउको सङ्क्रमण बढेको छ । गर्मी र वर्षाको समयमा यस्ता समस्या लिएर आउने हुन्छन् तर विगतको भन्दा चाहिँ बढेको छ ।”
स्वास्थ्य कार्यालय झापाले भने हालसम्म जिल्लाका कुनै पनि अस्पताल तथा स्वास्थ्यचौकीमा नाइरोवीका बिरामी नआएको जनाएको छ । कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलले औषधि व्यवसायीले सो कीराबाट पीडित बनेका बिरामी आउने गरेको जानकारी दिए पनि आधिकारिक स्वास्थ्य कार्यालयमा बुझ्दा कतै पनि बिरामी फेला नपरेको बताए ।