झापा,२४ असार । झापा ,अर्जुनधारा ४ स्थित जुकेखाडी साहसी टोलभित्रको हयुमपाइपमा फ्याँकिएका भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाईको हत्या आरोपमा फरार थप एक जना पक्राउ परेका छन् । गत असार १२ गते हत्या गरेर फरार भएका मोरङ, सुन्दरहरैँचा ६ का २४ बर्षीय सैलेश सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सापकोटालाई शुक्रवार भारत सिक्किमबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अर्जुनधारा ७ की ३२ वर्षीया जानुका देवी थापा, निजका श्रीमान ४९ वर्षीय विजय भन्ने बृख बहादुर थापा र सुनसरी ,बराहक्षेत्र नगरपालिका १० बस्ने २५ बर्षीय सुरेश परियारलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । सापकोटा जानुकाको फुपुको छोरा भएको बताइएको छ ।
पक्राउ परेका सापकोटाले जानुकाबाट सुपारीबापत एक लाख रुपैयाँ लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।