गाउँपालिकाका १३ परिवारलाई पक्कीघर हस्तान्तरण

बिर्तामोड, २१ असार । झापाको हल्दिबारी गाउँपालिकाका अति विपन्न १३ घरपरिवारलाई एकृकीत बस्ती बनाएर पक्कीघर निर्माणगरी हस्तान्तरण गरिएको छ । घर पाउने परिवारलाई घरको साँचो गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले हस्तान्तरण गरे ।
अति विपन्न, पिछडिएको जाति, दलित, अल्पसंख्यक, अपाङ्ग, एकल महिला र बृद्ध असक्तहरुको घर पालिकाले निर्माण गरेर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष लिङदेनले बताए।

घर पाउने १३ परिवारमध्ये लोपोन्मुख जाति सन्थाल समुदायका ९ परिवार रहेका छन् । त्यस्तै, दलित समुदायका ३ परिवार रहेका छन् । गाउँपालिकाले मराङमाई हेमरम, भीमबहादुर कामी, विश्वनाथ हास्दा, धनबहादुर विश्वकर्मा, लालबहादुर विश्वकर्मा, लुखीराम मुर्मू, नारायण हेमरम, विशाल हास्दा, सुनिराम सोरेन, जसमी किस्कू, एकराज कटवाल, सुकमणि मुर्मू र हपना हास्दाका लागि घर निर्माण गरिएको हो ।

सबैको आफ्नो जमिन समेत नभएकाले एकीकृत नमुनाबस्ती नै निर्माण गरेर एकीकृत घरमा राखेको छ । शौचालय, बिजुली, खानेपानीलगायतका सुविधा भएको तीन कोठे पक्की घर बनाएर हस्तान्तरण गरिएको हो ।

संघीय सरकारको तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत उक्त नमुना घरहरु हल्दिबारी गाउँपालिकाले –२ स्थित जनता आधारभुत विद्यालयको जमिनमा बनाइको छ । ५८ लाख ५८ हजार ७७७ रुपियाँमा जय ईश्वरी निर्माण सेवाले २०७६ पुष ६ गते सम्झौता गरी २०७८ असार २० गते निर्माण कार्य सम्पन्न गर्नेगरी घर निर्माण गरेको थियो ।

विपन्न परिवारलाई आवाससँगै योग्यताअनुसारको रोजगारीका लािग समेत पालिकाले समन्वय गर्ने पालिका अध्यक्ष लिङदेनले प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published.