कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

विराटनगर ,२१ असार। कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।यसअघि कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि नेपाली कांग्रेस संसदीय दलका नेता थापाले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२ ) बमोजिम दुई वा सो भन्दा बढी दलको समर्थनसहित आज ५ बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी गर्न आह्वान गरेका थिए । उक्त समयसीमा भित्रै गठबन्धन दलहरुको तर्फबाट थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्न दलका नेताहरुले हस्ताक्षर गरेको पत्रसहित दाबी पेश गरिएको हो ।
थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्न नेपाली कांग्रेस संसदीय दलका नेता थापा, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई र जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला तावा लिम्बूले संयुक्त पत्र हस्ताक्षर गरेका छन् । पत्रमा सभामुख बाबुराम कार्कीको पनि हस्ताक्षर सामेल गरिएको छ ।

कुल ९३ सदस्य रहेको कोशी प्रदेशमा सरकार गठन गर्न ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । गठबन्धन दलहरुले नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक १ गरी ४७ जनाको समर्थन रहेको पत्र प्रदेश प्रदेश प्रमुखलाई बुझाइएको हो ।

Leave a Reply

Your email address will not be published.