दमक,२१ असार । यहाँस्थित दमक नगर पालिका १० का धिमाल महिलाहरुको आयआर्जनमा सहयोग पुर्याउन घरेलु ९ थान पेटानी बुन्ने तान हस्तान्तरण गरिएको छ ।
वडा कार्यालयललए सोमबार एक कार्यक्रम गरि आफ्नो वडामा बसोबास गर्दै आएका धिमाल समुदायका ९ जना महिलाहरुलाई सो तान हस्तान्तरण गरेको हो । कार्यक्रममा वडाको अघिल्लो आर्थिक बर्ष २०७८/७९ को रु एक लाख ५० हजार बजेटबाट जनही करिब रु १७ हजार मूल्य बराबरका ९ थान पेटानी बुन्ने तान बितरण गरिएको वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारीले बताए । सो अवसरमा वडाध्यक्ष भण्डारीले तानको भरपुर उपयोग गर्दै आय आर्जन गर्न आग्रह गरे । साथै उत्पादित सामाग्रीको बजारीकरणमा समेत वडाले सहयोग पुर्याउने बचनबद्वता दिलाए । वडा सचिव योगेश भट्टराईका अनुसार वडाको सेतुमारी, नलबारी र नौ भाइ चोक आसपास धिमाल बस्तिका महिलाहरुलाई तान बितरण गरेको हो । लाभग्राही पुस माया धिमालले अझैपनी आफ्नो समुदाय भित्र तानको अभाब रहेको गुनासो गरिन । उनले आफ्नो गाउँ छिमेकमा तीन वटामात्र पेटानी बुन्ने तान रहेकोले आलोपालोमा पेटानी बुन्नुपर्ने बाध्यता रहेको गुनासो सुनाइन् ।
आगामी दिनमा पनि वडाले महिलालाई सिपमुलक कार्यक्रमहरु संचालन गरि उनिहरुको आयआर्जनमा टेवा पुर्याउने खालका कार्यक्रमहरुलाई निरन्तरता दिइने वडा सचिव भट्टराईले जानकारी दिए ।