झापा, २० असार । इटहरी चौकमा हिजो भएको सडक दुर्घटनामा परी आमाछोरीकै मृत्यु भएको छ ।इटहरी –३ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरीको मृत्यु भएको हो । आमा सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने छोरी अंशुको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खनारमा भदैनीको घरमा पूजामा जाने भन्दै घरबाट निस्केका आमाछोरी दुर्घटनामा परेका हुन् । घटनापछि इटहरी चोक लामो समय तनावग्रस्त रह्यो ।
कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । धरान लाइनबाट आएका दुवै सवारीले ट्राफिक लाइट बल्नेबित्तिकै तीव्र गतिमा चलाउँदा दुर्घटना भएको प्रहरीको अनुमान छ ।आमाछोरीलाई ठक्कर दिएपछि इटहरी चोक दिनभर तनावग्रस्त बन्न पुगेको थियो । भीडले कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपर तोडफोड गर्नुका साथै प्रहरीमाथिसमेत ढुंगा मुढा प्रहार भएको थियो । झडपमा ९ जना प्रहरी घाइते भएका थिए । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।