दमक,२० असार / झापाको दमक आसपासका क्षेत्रमा सर्पको डसाइका बिरामीहरु बढन थालेका छन् ।
दमकस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित सर्पदंश उपचार सेवा केन्द्रमा दैनिक १ दर्जन सर्पदन्सका बिरामीले उपचार गर्न आउन थालेका छ्न ।
बर्षात् भएर पानी रोकिएपछि सर्प डसाइका बिरामीहरु उपचारका लागि आउने गरेको रेडक्रस दमकका सभापति प्रकाश बुढाथोकीले बताए। उनका अनुसार दमकसहित पूर्वी नेपालका विभिन्न जिल्लाबाट यहाँ उपचारका लागि आउने गरेका छन् । दमकमा अत्यन्त थोरै शुल्कमा बिरामीले २४ सै घन्टा उपचार सेवा पाउदै आएका छन् ।
यहाँ समयमा उपचारका लागि आएपछि निको भएर फर्कने सम्भवाना नै अति धेरै भएकाले सकेसम्म उपचारका लागि बिरामीहरु आउने गरेको सभापति बुढाथोकीले बताए ।
२०६५ सालमा स्थापना भएको सो उपचार केन्द्रमा बर्सेनि १ हजार सर्प डसाइका बिरामीले सेवा पाउदै आएका छन् । झापामा पाइने विभिन्न प्रजातिका सर्पमध्ये गोमन र करेत बढी विषालु छन् । यी सर्पले डसेको जतिसक्दो छिटो उपचारको पहुँचमा पुग्न नसके बिरामीको मृत्यु हुने रेडक्रस दमकका पूर्व सभापति लिला गुरागाँईले बताए।
दमकमा सर्पको विषयमा अध्ययन गर्न र सर्पबारे बुझ्न रेडक्रसले सर्प सङ्ग्रहालय पनि बनाएको छ । रेडक्रसका अनुसार सङ्ग्रहालयमा ४२ प्रजातिका ७८ मृत सर्प राखिएका छन् । सङ्ग्राहलय बनाइएपछि सर्प सम्बन्धी अध्ययन गर्न आउने अवलोकनकर्ता समेत बढदै गएको केन्द्रले जनाएको छ ।
दमक बाहेक जिल्लामा चारआलि ,सुरुङा र हल्दिबारीमा सञ्चालित सर्पद्ङ्स उपचार केन्द्रबाट लक्ष्यित बिरामीले उपचार सेवा पाउदै आएका छन् ।