शिवसताक्षी ६ का महिलालाई व्यवसायिक मौरीपालन तालिम

शिवगञ्ज, २० असार ।यहाँस्थित शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले बडाभित्रका महिलालाई व्यवसायिक तथा सीपमूलक बनाउन मौरीपालन तालिम प्रदान गरेको छ ।
लक्षित वर्गसहितका सहभागी भएको सो तीन दिने तालिम शनिबार सम्पन्न भएको हो । तालिम समापनका क्रममा वडा कार्यालयले तालिममा प्राप्त गरेको ज्ञानलाई व्यवसायिक बनाउन सहयोग पुग्ने उद्देश्यले सहभागीलाई मौरीपालनका लागि घार समेत वितरण गरिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताएका छन् । समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष उनले मौरीपालन तालिमले वडाका महिलालाई आयआर्जनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यालयले महिलाको क्षमता विकास, व्यक्तित्व विकास एवं व्यवसायिक बनाउन यसअघि पनि सिलाई कटाई तालिम, ब्यूटिसियन तालिम, ब्याग बनाउने, अचाँर बनाउनेलगायतका विभिन्न तालिम दिएको र सो तालिम लिएका धेरै महिलाहरु अहिले आयआर्जन गर्न सक्ने तथा रोजगारी प्राप्त गर्न सफल भएको वडाध्यक्ष कार्कीले बताएका छन् ।
विराट प्राविधिक शिक्षा एवं परामर्श प्रालिको प्राविधिक सहयोगमा भएको तालिमको सहजकर्ता देवीकुमारी ओलीले गरेकी थिइन् । उनले मेहनत र राम्रोसँग मौरीपालन गर्न सके महिनामै १ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने दाबी गरिन ।
कार्यक्रममा वडा सदस्य लक्ष्मीप्रसाद गुरागाई, बद्रीनाथ खनाल र नरमाया परियारको सहभागीता थियो भने कार्यक्रमको सञ्चालन राज कट्टेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.