कमल,१७ असार । झापाको कमलमा पहिलो पटक वृत्ती परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ ।नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको खोजीमा रहेका युवायुवतीहरुबीच समन्वयकारी भुमिका निर्वाह गर्न मद्धत पुरयाउने उद्धेश्यले कमल गाउँपालिकाको आयोजना र कमल उद्योग वाणिज्य संघ सँगको सहकार्यमा शनिवार मेला सम्पन्न भएको हो । मेला हेल्भटास नेपालको प्राविधिक सहयोगमा भएको थियो ।
कमल गाउँपालिका -३ स्थित केर्खा खैल मैदानमा बिहान ९ बजेदेखि ३ बजे सम्म सञ्चालन भएको मेलाको जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालले उद्घाटन गरेका थिए।
रोजगार मेलाको उद्घाटनका क्रममा सभापति बरालले गाउँपालिका भित्र रहेका रोजगार दाता र रोजगारीको खोजिमा रहेका व्याक्तिलाई लक्षित गरि सञ्चालन भएको यस्तो मेला अत्यन्त उपयोगी हुने जोड दिए । त्यस्तै, गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यस गाउँपालिका भित्र रहेका रोजगार दाता र रोजगारीको खोजिमा रहेका युवाहरुलाई एकै ठाउँ भेला गराएर रोजगारी श्रृजना गर्ने उद्देश्यका साथ गाउँपालिकाले यस किसिमको सृजनात्मक मेला आयोजना गरेकाले यस्ता मेलालाई नियमित रुपमा सञ्चालन गरिने बताए ।
मेलामा कमल गाउँपालिका लगायत छिमेकी पालिकाका रोजगार शाखा, गाउँपालिकामा सञ्चालित प्राविधिक शिक्षालय, गाउँपालिकाका उद्यमी व्यवसायीहरुले उत्पादन गरेका उत्पादनहरु लगायतको स्टल राखिएको थियो । मेलाका कार्यक्रम संयोजक समेत रहेका कमल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उमानाथ भण्डारीले स्वागतसहित कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले रोजगारका अवसरहरुको बारेमा सुसुचित गराउने मुख्य लक्ष्यसहित स्थानीय उत्पादनहरुको बजारीकरण र प्रवद्र्धनका लागि समेत यो मेला सहयोगी बन्ने विश्वास व्यक्त गरेकी थिइन् ।