
दमक,१८ असार । दुई बर्ष अघि आगोले जलेर ज्यान गुमाएकी झापा, कमल गाउँपालिका- ६ सोनापुरकी कुलमाया बस्नेतको परिवारलाई स्थानीय युवाहरुको सक्रियतामा निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ ।
आगाले जलेर देवीवहादुर बस्नेतका २२ बर्षिया छोरी कुलमायाको मृत्युभएपछि पीडित परिवारलाई स्थानीय युवाले घर बनाइदिएका हुन् ।
उपचारका क्रममा विरामीको मृत्युभएपछि घरवारविहीन बस्नेत परिवारलाई स्थायी रुपमा बसोवासको व्यवस्था गर्नका लागि घर निर्माण गरि हस्तान्तरण गरिएको सामाजिक अगुवा हुकुमसिंह राईले बताए ।
घर बनाउन राईसहितका मनकारी युवाहरुको समितिले सरसहयोग जुटाएर घर निर्माण गरिदिएको हो । एक तले जस्तापाताले छाएको पक्की घर निर्माणमा रु ५ लाख४५ हजार १०० रुपैया खर्च भएको समितिका आर्थिक संयोजक हर्कवहादुर रायले बताए ।
रायका अनुसार बस्नेत परिवार तीन पुस्तादेखि त्यहाँका एक नेपाल परिवारको घरायसी कामदारका रुपमा बस्दैआएका थिए । खोले पकाउन आगो बालेको चुल्होमा परेपछि कुलमायाको उपचारमा समस्या भएपछि राईको नेतृत्वमा कुलमाया बचाउ अभियान गठन गरिएको थियो । उपचारका क्रममा विरामीको मृत्युभएपछि त्यहि अभियानलाई घर निर्माण समितिमा रुपान्तरण गरिएको थियो ।
घर निर्माणमा नेपाल परिवारले दश धुर जमीन दिएका थिए भने इटा,सिमेन्ट,रड लगायतका कच्चा सामाग्री सहयोगबाटनै जुटाइएको थियो । त्यस्तै ,वडा कार्यालयले पनि आवश्यक जस्तापाता सहयोग गरेको थियो भने स्थानीय युवाहरुले श्रमदान गरि सहयोग पुरयाँएका थिए ।
संयोजक राईका अनुसार कूलमाया बचाउ अभियानकै बीचमा विरामीको उपचारका लागि रु ३ लाख ८० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । सो रकम समेत केही प्रतिशत घरमा पनि खर्चिएको र बचत रकम रु २ लाख १६ हजार ४ सय ६३ रुपैया पीडित परिवारको जिविकोपार्जनका लागि हस्तान्तरण गरिएको थियो ।
समितिले आज त्यहाँ एक कार्यक्रम गरि बस्नेतसहित उनका छोरा विदुर र बुहारीलाई नवनिर्मीत घरको साँचो,नगद सहयोगको चेक हस्तान्तरण गरेको थियो । घर हस्तान्तरण कार्यक्रममा समितिका सन्तोष भण्डारी,तेजु आङदेम्बे लगायत,स्थानीय छरछिमेकीहरुको समेत उपस्थिति रहेको थियो ।