झापा,१६ असार । झापाको मेचीनगर नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका झापाका दुई सहिदको स्मृतिमा सडकको नामकरण गरेको छ ।मेचीनगरले पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि बाहुनडाँगी हुँदै इलामको रोङ गाउँपालिकाको जिर्मले जोड्ने सडकलाई ‘सहिद विश्वनाथ घिमिरे मार्ग’ नामकरण गरेको नगर प्रमुख गोपाल बुढाथोकीले बताए। यो सडक १९ किलोमिटर लामो छ । यसअघि यो सडकलाई मेची करिडरको रुपमा परिचित थियो ।
यसैगरी, पूर्वपश्चिम राजमार्गकै धुलाबारीदेखि ज्यामिरगढी हुँदै भद्रपुर नगरपालिकाको घोडामारा जोड्ने १५ किलोमिटर सडकलाई ‘सहिद वीरेन राजवंशी मार्ग’ नामकरण गरिएको उनले जानकारी दिए । मेचीनगर नगरपालिकाको शुक्रबार सम्पन्न नगरसभामा विशेष प्रस्ताव अनुमोदन गरेर ती दुई सडकको नामकरण गरिएको हो ।
विसं २०२९ फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने निहुँमा झापा र इलामको सीमानास्थित सुखानी जंगलमा पञ्चायती शासकले गोली हानी कम्युनिष्ट राजबन्दी वीरेन राजवंशीको हत्या गरेका थिए । झापा विद्रोहको क्रममा भएको सो घटनामा राजवंशीसँगै पाँच जना विद्रोही नेताको हत्या भएको थियो । जसलाई सरकारले सहिदको रुपमा सम्मान दिइसकेको छ । सहिद वीरेन राजवंशीको घर सोही सडकको ज्यामिरगढी खण्डमा रहेको छ ।