प्रहरका कविता


उस्तैगरी विस्मृतिमा यादहरु लिएर
बेलाबेला आइरहन्छन् – बिझाईरहन्छन् ।
चिहान भएर जानेहरु
धुँवा भएर जानेहरु
फरक के हुँदो होला र ?
सायद,
चिहान भएर जानेहरु माटोको बाटो जाँदा हुन्,
धुँवा भएर जानेहरु आकाशको बाटो जाँदा हुन् ।
माटोको बाटो भएर जानेहरु
कहिलेकाँहि पिरो धुँवा जस्तै याद लिएर
मनलाई भारी बनाउन आईरहन्छन
अनि उस्तै गरि
आकाशको बाटो भएर जानेहरु पनि
माटो बनेर पाइताला हुँदै मनमा बिझाँइरहन्छन्
बाँच्न खोज्दाखोज्दै फर्किने ठेगाना हराएकाहरु
र, सग्लो फर्किन नसकिने बाटोको मुखैमा आफन्त, आएर बिदा गरेकाहरुमा
फरक के हुँदो होला र ?

उनीहरु तारा बन्नलान् कि जुनु ?
बाटामा चौतारा बनाएर लेखिएका नामहरु
आफ्नै नामको चौतार सम्म आइपुगेका छन् कि छैनन ?
शिलामा खोपिएका शब्दहरुको यात्रा कहाँ सम्म होला ?
लुङ्दरमा कोरिएका प्रार्थनाका अक्षरहरु
हावामा मिसिएर(पुग्ने गन्तव्यको टुंगो नभएजसरी
गन्तव्य बिर्सिएर यतैकै छाडिएकाहरु
सायदै, खोलाका वेग, हावाको सुसेली
बनेर यतैकतै वनपाखा र विरान ठाउँमा घुमिरहन्छन् होला ।
विस्मृतिमा बेलाबेला आएर
जिन्दगी बुझाउन खोज्नेहरु को हुन् ?
धुँवा भएर जानेहरु हुन् कि माटो भएर जानेहरु हुन् ?
जीवनको लोभ हुँदाहुँदै माटो र धुँवा बन्नेहरु को हुन् ?
हारेकाहरु हुन् वा जितेका हुन् ?
शान्त हुन् वा अशान्त हुन् ?
के हराएकाहरु यसरी
बदलिएर आउने कुनै बाटो छ र ?
बाटै फरक भएर जानेहरुको
यादहरु किन उस्तै गरि बिझाइरहन्छ ?
विरान ठाउँमा एक्लै हुँदा लाग्ने डर जस्तै सबै-सबै हराउनेहरुको
याद यसरीनै बिझाउँने हुन्छ र ?

Leave a Reply

Your email address will not be published.